दाङ, २० असार । बालविवाह, महिला संघर्ष, शिक्षा र पारिवारिक सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्ने नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
प्रदर्शनको तयारीस्वरूप चलचित्रको भावनात्मक ट्रेलर सार्वजनिक गरिएको छ । करिब ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले शिक्षाको सपना बोकेकी एक युवतीले सामाजिक कुरीति, पितृसत्तात्मक सोच र वैवाहिक जीवनमा भोग्नुपरेका चुनौतीबीच गरेको संघर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ । अटिजम भएका युवकसँग विवाह गरेपछि उनले भोग्ने मानसिक तथा सामाजिक पीडा, महिलाको शिक्षा, घरेलु हिंसा र परम्परागत सोचका कारण चकनाचुर हुने सपनालाई ट्रेलरले प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा. कपिल रिजाल ले चलचित्रले मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य बोकेको बताएका हुन । उनका अनुसार चलचित्रको मूल विषय बालविवाह, महिला सशक्तीकरण, शिक्षाको महत्त्व र पारिवारिक जिम्मेवारी हो ।
चलचित्रको कथा डा. भोला रिजाल ले लेखेका हुन । चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, रवीन्द्र झा, लुनिभा तुलाधर, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीको अभिनय रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ का उपाध्यक्ष नारायणी रजौरे ले सामाजिक रूपान्तरणका लागि सन्देशमूलक चलचित्रको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन । त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघ का पूर्वअध्यक्ष बिमल रिजाल ले यथार्थपरक र समाज परिवर्तनका पक्षमा बनेका चलचित्रलाई सबैले साथ दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष निरला अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण सचिव एकराज भण्डारी ले गरेका थिए ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्देशन डा. कपिल रिजालले गरेका थिए । चलचित्रको पटकथा तथा संवाद लेखनमा निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ ।
निर्माण पक्षका अनुसार ‘गौँथली’ ले मनोरञ्जन मात्र नभई बालविवाह अन्त्य, महिला शिक्षा र समानताको पक्षमा समाजमा सकारात्मक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
