२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

निर्वाचन अधिकृतमाथि मोबिल छर्किएको घटनाप्रति घोराहीका कर्मचारी आक्रोशित, दोषीलाई कडा कारबाहीको माग

दाङ, २८ असार । दाङको घोराही उपमहानगरपालिका १५ स्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनका क्रममा खटिएका निर्वाचन अधिकृत अजय बोहरामाथि भएको दुर्व्यवहारको घटनाप्रति घोराही उपमहानगरपालिकाका कर्मचारीहरूले कडा आपत्ति जनाएका छन् ।

कर्मचारीहरूले जारी गरेको विज्ञप्तिअनुसार वडा नं. १५ का वडा सदस्य लेखनाथ बुढाथोकी ‘उत्तम’ ले निर्वाचन अधिकृत बोहरामाथि प्रज्वलनशील पदार्थ मोबिल छर्किनुका साथै गालीगलौज गर्दै भौतिक आक्रमणको प्रयास गरेका थिए । उक्त घटनालाई कर्मचारीहरूले अमानवीय, निन्दनीय र कानुनविपरीतको आपराधिक कार्यको संज्ञा दिएका छन् ।

विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमा असहमति र फरक विचार स्वाभाविक भए पनि राष्ट्रसेवक कर्मचारीमाथि गरिएको यस्तो अपमानजनक व्यवहारले कानुनी शासन, सुशासन तथा लोकतान्त्रिक मूल्य मान्यतामाथि नै गम्भीर प्रहार गरेको उल्लेख गरिएको छ ।

कर्मचारीहरूले घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी संलग्नमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् । साथै सार्वजनिक जिम्मेवारीमा खटिने कर्मचारीहरूले कुनै दबाब, धम्की वा दुर्व्यवहारबिना आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने सुरक्षित वातावरण सुनिश्चित गर्न राज्यसँग आग्रह गरेका छन् ।

घोराही उपमहानगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट जारी विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न र दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस