२०८३ साउन १६ गते शनिवार | 2026 August 1st Saturday

स्वर्गीय घिमिरेको शालिक अनावरण

दाङ, १६ साउन । दाङको बबई गाउँपालिका ५ हापुरेमा नेपाली कांग्रेसका स्वर्गीय नेता शालिकराम घिमिरेको  शनिबार शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक गिरी र कांग्रेस नेता रामहरि खतिवडाले संयुक्त रूपमा शालिकको अनावरण गरेका हुन् । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरीले स्वर्गीय घिमिरे लोकतन्त्र र नेपाली कांग्रेसप्रति समर्पित, इमान्दार तथा साहसी नेता रहेको स्मरण गरेका थिए ।

उनले घिमिरेजस्ता नेता तथा कार्यकर्ताको बलिदानकै कारण नेपाली कांग्रेस आजको अवस्थामा पुगेको बताएका हुन । उनले लोकतन्त्र स्थापनाका लागि ज्यानको पर्वाह नगरी संघर्ष गर्ने शहीदहरूको योगदान कहिल्यै बिर्सन नहुने भन्दै उनीहरूको सम्मान गर्नु सबैको दायित्व भएको उल्लेख गरे । उनले जनयुद्धकालमा शालिकराम घिमिरेले आफ्नो ज्यान जोखिममा रहेको पटक पटक बताउने गरेको स्मरण गर्दै भने, ‘ उहाँले हामीलाई बारम्बार मेरो ज्यानको खतरा छ भन्नुहुन्थ्यो । तर, २०५५ साल साउन १६ गते उहाँको हत्या भयो । आज २८ वर्षपछि पनि हामीले एक इमान्दार नेता गुमाएको पीडा महसुस गरिरहेका छौं ।’

उनले पछिल्लो ३५ वर्षमा पश्चिम दाङमा उल्लेखनीय विकास भएको दाबी गर्दै सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधार क्षेत्रमा ठूलो परिवर्तन आएको बताए । पहिला तुलसीपुर र घोराही पुग्न निकै कठिन थियो, अहिले सहज भएको छ । अपेक्षाअनुसार सबै काम नभए पनि विगतको तुलनामा धेरै विकास भएको छ, ‘उनले भने । पूर्वमन्त्री गिरीले आफू जीवित रहुन्जेल दाङको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुकुम्बासी समस्या समाधानका लागि संसदमार्फत प्रभावकारी आयोग गठन आवश्यक रहेको बताए ।

उनले यो विषय व्यक्तिगत प्रयासले मात्र सम्भव नहुने धारणा पनि राखे। २०५५ साल साउन १६ गते तत्कालीन माओवादी पक्षबाट हत्या गरिएका स्वर्गीय शालिकराम घिमिरे तत्कालीन पुरन्धारा गाविसमा नेपाली कांग्रेसका पार्टी उपसभापति थिए । लोकतन्त्र र पार्टी संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका घिमिरेको योगदानको सम्मानस्वरूप बबई गाउँपालिका ५ हापुरेमा उनको शालिक निर्माण गरी अनावरण गरिएको हो ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस