दाङ, १५ भदौ । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बिमलादेई हस्पिटालिटी प्रा.लि., तुलसीपुर ६, दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
बिमलादि हस्पिटालिटीको तर्फबाट रु. ११ हजार १११ रुपैयाँ ११ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो । संस्थाले विपद्का कारण प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा आफ्नो सानो सहयोगले योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
संस्थाका संस्थापक दीपकराज खड्काले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउँदै मानवीय सेवाको अभियानमा सहभागी हुन पाएकोमा गौरव महसुस भएको उल्लेख गरेका छन् ।
हाल देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुट्ने क्रम जारी छ ।
