२०८३ असोज १३ गते मङ्गलवार | 2026 September 29th Tuesday

स्व. शालिकराम घिमिरेको बलिदान भाषण र आश्वासनमै सीमित भएको परिवारको गुनासो

दाङ, १३ असोज । नेपाली कांग्रेसका लागि जीवन समर्पण गरेका स्व. शालिकराम घिमिरेको योगदान पार्टीका भाषण र आश्वासनमा मात्रै सीमित भएको परिवारले गुनासो गरेको छ । दाङको बबई गाउँपालिका क्षेत्र (साबिक पुरन्धारा गाविस) का नेपाली कांग्रेसका तत्कालीन पार्टी उपसभापति घिमिरेको २०५५ साल साउन १६ गते तत्कालीन माओवादी पक्षबाट गोली हानी हत्या भएको थियो । पार्टी संगठन निर्माण र सामाजिक कार्यमा सक्रिय घिमिरेले आफ्नो जीवन कांग्रेसमा समर्पित गरेको परिवारको भनाइ छ ।

घिमिरेको हत्या भएपछि परिवारलाई पार्टीका तर्फबाट विभिन्न आश्वासन दिइएको भए पनि तीमध्ये अधिकांश पूरा नभएको परिवारको गुनासो छ । विशेषगरी स्व. घिमिरेको शालिक निर्माण गर्ने प्रतिबद्धता लामो समयसम्म पूरा नभएपछि परिवारले पटक पटक पार्टीका विभिन्न तहमा आग्रह गर्दै आएको जनाएको छ ।

घिमिरेका भाइ गोविन्द घिमिरे र छोरा घनश्याम घिमिरेले शालिक निर्माणका लागि पार्टीका विभिन्न निकायमा पटक पटक आग्रह गरेपछि २८ वर्षपछि २०८३ साल साउन १६ गते शालिक निर्माण गरेर उद्घाटन गरिएको थियो । तर शिलान्यास भएको लामो समय बितिसक्दा पनि निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएको परिवारको गुनासो छ ।

पार्टीको १५औँ महाधिवेशनको सन्दर्भमा समेत स्व. घिमिरेको योगदानको उचित मूल्यांकन हुन नसकेको परिवारले जनाएको छ । घिमिरेको पार्टीप्रतिको त्याग, योगदान र सामाजिक भूमिकाको सम्मान हुन नसकेको भन्दै छोरा घनश्याम घिमिरेले दुःख व्यक्त गरेका छन् ।

घनश्यामले भने, “मेरो बुवाले पार्टी र समाजका लागि गर्नुभएको योगदानको आज पार्टीले मूल्यांकन गर्न नसक्दा म मात्रै होइन, मेरो परिवार नै दुःखी भएको छ ।”

परिवारले स्व. घिमिरेको योगदानलाई केवल भाषण र आश्वासनमा सीमित नराखी उहाँको स्मृति र सम्मानका लागि गरिएको प्रतिबद्धता पूरा गर्न नेपाली कांग्रेस दाङसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस