२०८३ असोज २० गते मङ्गलवार | 2026 October 6th Tuesday

व्यवसायीको हकहितका लागि स्वतन्त्र उम्मेदवारी : खिमबहादुर डाँगी

दाङ, २० असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा खुला सदस्य पदका उम्मेदवार खिमबहादुर डाँगीले स्वतन्त्र रूपमा निर्वाचनमा जाने घोषणा गरेका छन् । उनले प्रेस विज्ञप्ति मार्फत आफू कुनै राजनीतिक दलको प्रभावमा नरही व्यवसायीको हकहित र कल्याणका लागि अघि बढ्ने बताएका छन । डाँगीले लामो समय देखि आफूले विधान विपरीतका कामको विरोध गर्दै विधिको सम्मान तथा व्यवसायीको हित र कल्याणलाई प्राथमिकता दिँदै आएको उल्लेख गरेका छन् । तर संघको वर्तमान कार्यसमिति, आफ्नो पार्टी नेतृत्व तथा अन्य राजनीतिक दलहरूले विधान विपरीतका कार्य र प्रक्रियालाई समर्थन गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

विज्ञप्तिमा उनले आफूले उठाउँदै आएको न्यायिक, वैधानिक र व्यावसायिक हितको आवाजलाई पार्टी नेतृत्वले सकारात्मक रूपमा नलिएको भन्दै दुःख व्यक्त गरेका छन् । साथै, आजकै मिति देखि नेपाली कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र भएको घोषणा गरेका छन् ।

उच्च अदालत तुलसीपुरमा विचाराधीन मुद्दाका कारण आफूले असोज २४ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा ध्रुव कुमार गहतराज नेतृत्वको प्यानल बाट अलग रही स्वतन्त्र खुला सदस्य पदमा उम्मेदवारी दिएको डाँगीले बताएका छन् । 

उनले संघमा आबद्ध सम्पूर्ण साधारण सदस्य तथा उद्योगी व्यवसायीलाई विवेक पूर्ण मतदान गर्न आग्रह गर्दै सत्य, न्याय, व्यवहारिकता तथा व्यवसायीको हकहित र कल्याणका लागि कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डाँगीले आफ्नो उम्मेदवारीलाई व्यवसायीको स्वतन्त्र आवाजका रूपमा प्रस्तुत गर्दै निर्वाचनमा सहयोग र समर्थनका लागि सम्पूर्ण व्यवसायी समक्ष अपिल गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन आगामी असोज २४ गते हुने तय भएको छ ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस