दाङ, १० काक्तिक । नेपाल तरुण दलको ७४औँ स्थापना दिवसको अवसरमा तरुण दल तुलसीपुर नगर समितिले तुलसीपुर उपमहानगरपालिका ५, रानीजरुवाका ६ विपन्न परिवारलाई राहत वितरण गरेको छ । तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्तीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा महासमिति सदस्य केशव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महासमिति सदस्य जितबहादुर केसी र जिल्ला सहसचिव तथा महाधिवेशन प्रतिनिधि सुबोध कुमार डाँगी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले तरुण दल तुलसीपुर नगरले रचनात्मक कार्य मार्फत स्थापना दिवस मनाएको भन्दै नगर अध्यक्ष कमल घर्तीलाई धन्यवाद व्यक्त गरेका थिए । उनले तरुण दल तथा नेपाली कांग्रेसले अब भाषण भन्दा पनि रचनात्मक काम मार्फत जनता माझ पुग्नुपर्ने बताएका थिए । जनताको समस्या र पीडा बुझ्दै उनीहरू माथि हुने अन्यायका विषयमा सम्बन्धित निकायसम्म आवाज पुर्याउन र आवश्यक पहल गर्नु पर्नेमा उनले जोड दिएका थिए ।
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति वीरेन्द्र कुमार शाह, क्षेत्रीय सदस्य गोरख वली, महाधिवेशन प्रतिनिधि राघव देवकोटा लगायतको उपस्थिति रहेको थियो । कुलबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तरुण दल तुलसीपुर ५ का सभापति मेघराज केसीले गरेका थिए ।






