दाङ, २ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका ३ सातबासमा दुई दिने खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नवज्योति सांस्कृतिक युवा क्लबको २४औँ वार्षिकोत्सव तथा हरिबोधनी एकादशी धार्मिक मेला २०८३ को अवसरमा आयोजना गरिएको प्रतियोगिताको युवा नेता सुरेश हमालले रिबन काटेर उद्घाटन गरेका हुन ।
मंसिर २ र ३ गते सञ्चालन हुने प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिएका छन । प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा नेता हमालले स्थानीय स्तरमा खेलकुदको विकासका लागि सबैले योगदान दिनु पर्ने बताएका हुन । उनले यस्ता प्रतियोगिताले युवाहरूको खेल प्रतिभा उजागर गर्नुका साथै खेलकुद प्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका हुन ।
