२०८३ साउन २४ गते आइतवार | 2026 August 9th Sunday

राष्ट्रपति भण्डारी भोलि दाङ आउदै

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ आउने भएकी छिन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी त्यहाँ आउन लागेकी हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।

महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस