२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

पत्रकारलाई हराउँदै कर्मचारीको टीम विजयी

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टीम विजयी भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा घोराहीको उपमहानगरपालिकाको सहयोगमा आइतबार आयोजित पत्रकार तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टीम ६–४ गोल अन्तरले विजयी भएको हो । कर्मचारीको टिमका तर्फबाट किरण महतरा र मोहनसिंह सुनारले २–२ गोल गर्दा थानिस शर्माले १ गोल तथा थप एक गोल आत्मघाती भएको थियो ।

पत्रकार समुहको टिमबाट सविन प्रियासन, सुशील नेपाली, शिशिर पुन र सुशील चौधरीले १–१ गोल गरेका थिए । घोराही १८ नवलपुर फुटबल मैदानमा भएको मैत्रीपूर्ण फुटबलमा पत्रकार र कर्मचारीबीच परिचय आदानप्रदान गर्न तथा प्रजातन्त्र दिवसको मर्मलाई आत्मसात गर्न शुभकामना आदानप्रदान पनि भयो । महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुखमा हुँमा डिसीको प्रमुख आतिथ्यता भएको औपचारिक कार्यक्रममा प्रजातन्त्र दिवसको सान्दर्भिकतालाई आजको दिनमा हरेक नेपालीले मनन गर्न सक्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा उपप्रमुख डिसीले तत्कालीन समयमा ज्यानको बलिदानी दिएका शहीदहरुका कारण जहानिया राणाशासनको अन्त्यसँगै प्रजातन्त्र स्थापना भएको बताइन् । नेपाल र नेपाली जनताको विकासका लागि प्रजातन्त्र ल्याउन भूमिका खेलेका ज्ञान अज्ञात शहीदहरूको योगदानलाई कहिल्यै भुल्न नहुने उनको भनाई थियो । दिवसको सन्दर्भ पारेर मैत्रीपूर्ण फुटबल आयोजना गरेर कर्मचारी र पत्रकारबीचको भावनात्मक एकता बलियो बनाउन तथा सामाजिक न्यायमा आधारित कृयाकलापमा आआफ्नो क्षेत्रबाट अझ जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस