२०८३ साउन २८ गते बिहिवार | 2026 August 13th Thursday

अनियमितता रोक्न खोज्दा दुःख दिने काम भयो : वडा अध्यक्ष सुनिल वली

दङ शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष सुनिल वलीले अनियमितता रोक्न खोज्दा आफुलाई सुनियोजित रुपमा फसाइएको बताएका छन् । सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष वलीले योजनाको डुव्लिकेशनको आशंकामा कुरा उठाउँदा आफुलाई फसाइएको बताएका हुन ।

शान्तिनगर गाउँपालिका वडा नं. २ अन्तर्गत रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुरमा पुस्तकालय स्थापनाको विषयमा आफुले बुझ्न खोज्दा विवाद भएको बताए । ‘वडामा हुने अधिकांस विकास निर्माणका कामहरु वडा अध्यक्षको सिफारिसमा हुने गरेको छन्, तर जनकल्याण माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने योजनाहरु कसरी प-यो भनेर बुझ्न मात्रै खोजेको थिए’,पत्रकार सम्मेलनमा वडा अध्यक्ष वलीले भने,‘तर कर्मचारीले नै वडा अध्यक्ष भनेको को हो भनेर अपमान नै गरेपछि सामान्य विवाद भएको हो ।’

यो सामान्य विषयलाई राजनीतिक पहुचका आधारमा आफुलाई फसाइएको समेत उनले बताए । वली स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष हुन । अध्यक्ष वलीले आफुले वडामा कुनैपनि भ्रष्टाचार नगरेको र गर्न पनि नदिएकाले आफुमाथि पटक पटक जनप्रतिनिधि र कर्मचारीहरुले हतोत्साहित गराउने गरेको पनि बताएका छन् । कर्मचारीसँग विवाद हुँदा उनलाई प्रहरीले असार ८ गते घोराही आउदै गर्दा नारायणपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

शान्तिनगर गाउँपालिका शिक्षा शाखा प्रमुख सुमन पाण्डेले आफुमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । निवेदनपछि पक्राउ परेका वली सोमवार धरौटीमा रिहा भएका छन् ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस