२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

‘ब्लू बस’ रास्वपाको सस्तो राजनीति हो : पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि निःशुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको आरोप लगाएका छन ।

बिहीबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले यो कुराले हामी कता जान खोज्दैछौं भन्ने प्रश्न उब्जिएको उल्लेख गरेका छन ।

‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरूदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्,’ उनले लेखेका छन ‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? जिज्ञासा उठ्नु स्वाभाविक हो ।’

नेपाली समाजमा यतिबेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता र चितवन महिला जागरण र जागृतिको थलो भएको उनले उल्लेख गरेका छन ।

‘पञ्चायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरूष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए,’ उनले लेखेका छन,‘तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरूवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ।’

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस