२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

सल्यानमा सन्चारमन्त्रीद्वारा स्वयंसेवक परिचालन उद्घाटन 

सल्यान, १६ मङ्सिर । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई जनताको सेवा गर्ने बताएकि हुन ।

सल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्प प्रभावित घरधुरीहरुको अस्थायी आवास तथा शौचालय निर्माणका लागि स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार, पार्टी र जनता सबैले पुनर्निर्माणलाई सेवा गर्ने अवसरको रुपमा लिनुपर्ने बताएकि हुन ।

भूकम्पलगत्तै प्रधानमन्त्री विहानै प्रभावित स्थल पुगेर एकै दिनमा उद्दारको काम सम्पन्न गरेको उल्लेख गर्दै उनले राहत र पुनर्स्थापनाको कामलाई पनि सघनरुपमा अघि बढाउनुपर्ने बताएकि हुन । सरकारले पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिदै मन्त्री शर्माले आवश्यक परे सेना प्रहरी परिचालन गर्न सकिने नीतिगत निर्णय पनि भैसकेको बताएकि हुन ।

सो क्रममा मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउन ढुङ्गा हटाएर स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेकि हुन ।

मन्त्री शर्मासङ्गै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसी, केन्द्रीय सदस्य एवं सल्यान इन्चार्ज नरेश भण्डारी, गाउँपालिका अध्यक्ष निमबहादुर केसीलगायतले श्रम गरेका थिए ।

भूकम्पबाट सल्यान दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति गरेको छ।  ११७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १०८१ घरमा आंशिक क्षति भएको छ । पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय,५ वटा स्वास्थ्य संस्था र ३ वटा वडा कार्यालयमा क्षति पुगेको छ।  ११७९ घरधुरीका ६३१८ जनसंख्या बिस्थापित भएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिएका हुन ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस