२०८३ असोज १३ गते मङ्गलवार | 2026 September 29th Tuesday

ग्लोबल आईएमई बैंकले सच्यायो रविलाई दिएको पत्रको मिति

काठमाडौं, ८ माघ । ग्लोबल आईएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिएको पत्रको मिति सच्याएको छ।

सहकारीको रकम व्यक्तिको खातामा ट्रान्सफर गरिएको सन्दर्भमा बैंकले पत्रको मिति सच्याएर पठाएको लामिछानेले ट्वीट गरेका छन्। सहकारीपीडितको पैसा चलाएको आरोप लागेपछि उनले सोमबार पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका थिए।

त्यसक्रममा उनले आफ्नो खातामा रकम ट्रान्सफर नभएको ग्लोबल आईएमई बैंकको पत्र पनि देखाएका थिए। सो पत्रमा उल्लेखित मिति फरक परेपछि उठेका प्रश्नको सामाजिक सञ्जालबाट जवाफ दिँदै रविले पछिल्लो घटनाको सम्पूर्ण विस्तृत निचोड आजै  केही बेरमा लेखेर पोस्ट गर्ने बताएका छन् ।

‘पछिल्लो घटनाको सम्पुर्ण  विस्तृत  निचोड आजै केही बेरमा लेखेर पोस्ट गर्दै यो विषयलाई बिट मार्ने कोशिश गर्नेछु। केही ढिलो हुन सक्ला, प्रतीक्षा गर्नुहोला’ उनले लेखेका छन्, ‘प्रक्रियाका लागि कागजमा ल्याप्चे लगाए पनि मेरो खातामा पैसा जम्मा नभएको कुरा निरन्तर भन्दै आएको छु र प्रमाणले पनि त्यही देखाएको छ। बिग्रिएको मितिमा १ लेख्नुपर्नेमा ६ लेखेकोमा बैँकले पनि सच्याएको छ।’

बैंकले रविलाई दिएको अघिल्लो पत्रमा ‘बैंकमा सञ्चालनमा रहेको खाता नं। ००३०७०१०००५९१३ मा रहेको १ करोड ८० लाखको चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ‘ईसीसी’मार्फत चेक क्लियरेन्समा पठाउँदा पर्याप्त पैसा ‘इनसफिसेन्ट ब्यालेन्स’का कारण फिर्ता भएको हुँदा सो खातामा पैसा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ’ उल्लेख छ ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस