२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

लुम्बिनीका सांसद कुर्मी र केसीलाई पदबाट हटाउ

दाङ,१७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पत्रकार सम्मेलन गरि बिभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गरेको छ । सोमबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरि बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी र रुकुम पूर्वबाट प्रतिनिधित्व गर्ने डिबी भनिने धनबहादुर केसीलाई सांसद पदबाट हटाउन माग गरिएको थियो ।

पार्टीका  दाङ जिल्ला सेक्रेटरी अमर खड्काले कुर्मी व्यक्ति अपहरण, बन्धक तथा हत्या जस्तो जघन्य अपराधमा आरोपित रहेको र केसी किर्ते मुद्दामा ३३ वर्ष पहिले अदालतबाट दोषी ठहर भइ एक वर्ष कैद र दुई हजार जरिवाना तोकिएका व्यक्ति भएको हुँदा उनीहरु सांसद बन्न अयोग्य रहेको भन्दै हटाउनु पर्ने माग गरेका थिए । उनीहरु दुबै जना नेपाली काँग्रेसबाट निर्वाचित सांसदहरू हुन । बाँकेकी निर्मला कुर्मीलाई अपहरण तथा बन्धक बनाइ बेपत्ता पारेको गम्भीर जस्तो अभियोग मन्त्री कुर्मीका विरुद्ध रहेको छ ।

मन्त्री कुर्मीलाई कारबाही हुनुपर्ने मागसहित महिला अधिकारकर्मीहरूले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । त्यस्तै सांसद केसीमाथि किर्ते गरेको अभियोग छ । २०४८ साल असार ६ गते तत्कालीन जिल्ला न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरारको सूचीमा रहँदै आएका छन् ।

आइतबार मात्रै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर उनीहरूले सोही मागसहितको ज्ञापन पत्र बुझाएका थिए । पार्टीका प्रदेश इन्चार्ज तिलकको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाउनु भन्दा पहिला प्रदेश राजधानी बाहिर प्रदर्शन  गरेको थियो ।आफ्नो मागको वेवास्ता गरे थप चरणवद्ध आन्दोलनहरू गर्न बाध्य हुने पार्टीका जिल्ला सेक्रेटरी खड्काले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस