दाङ, १० पौष । दाङको तुलसीपुरमा यहि पुस ११ गतेदेखि सुरु हुने दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिताको टिम दर्ता, खेलमैदान निर्माण, प्रचारप्रसार, मन्च ब्यबस्थापन, अतिथी सत्कार लगायत सबै तयारी पूरा भएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरीले जानकारी दिएका छन ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र बिस्तारसंगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस तुलसीपुर नगर सभापति तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन बिहान साढे एघार बजेका लागि तय गरिएको छ । प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हात पार्ने टिमलाई क्रमशः नगद ५०, ३० र १५ हजार पुस्कारसंगै कप, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधाका खेलाडीलाई ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुम लगायत जिल्लाका १२ भलिबल टिमको सहभागिता रहनेछ । ५ हजार टिम दर्ता शुल्क निर्धारण गरिएको प्रतियोगिताको खेल तालिका टाईसिट भोलि पुस १० गते दिउँसो ४ बजे प्रकाशित गरिने यरीले जानकारी दिएका छन ।