२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

तुलसीपुर २ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरू

दाङ, ६ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा आजदेखि वडाकप फुटबल प्रतियोगिता घोरबन्डामा शुरु भएको छ ।

वडा अध्यक्ष भिम बहादुर योगीको अध्यक्षता तथा निवर्तमान नगर प्रमुख घनश्याम पान्डेको प्रमुख आतिथ्यतामा वडाकप फुटबल, छात्रा कबड्डी तथा घैटो फोड प्रतियोगिताको उद्घाटन गरिएको हो ।

स्थानीय खेलकुदको प्रोत्साहनमा सहयोग पुर्याउने उद्देश्यले आयोजिते वडाकप प्रतियोगिताका प्रमुख अतिथि निवर्तमान नगर प्रमुख पान्डेले खेलकुदले स्थानीय समुदायको प्रोत्साहन मात्र नभई सामाजिक एकता र सहभागिताका लागि उत्कृष्ट अवसरको रूपमा लिनुपर्ने बताएका हुन ।

कात्तिकेचौर खेल मैदानमा शुरु भएको वडाकप फुटबल, छात्रा कबड्डी र महिला घैटो फोड प्रतियोगिता तीन दिन फागुन ८ गतेसम्म सञ्चालन हुने वडा अध्यक्ष योगीले जानकारी दिएका हुन । उनका अनुसार वडाकप फुटबल प्रतियोगितामा १२ वटा समूहले सहभागीता जनाएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय स्थान प्राप्त गर्ने समूहले क्रमशः १८ हजार ५ सय, १५ हजार ५ सय र १० हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, छात्रा कबड्डी प्रतियोगितामा चार वटा मावि विद्यालयका छात्राहरूले प्रतिस्पर्धा गर्दैछन् । कबड्डी प्रतियोगितामा प्रथम र दोस्रो स्थान ल्याउने समूहलाई क्रमशः नगद ७ हजार र ५ हजार संगै ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । फुटबल र कबड्डीसँगै घैटोफोड प्रतियोगिता पनि आयोजना गरिएको छ । घैटोफोड प्रतियोगितामा वडाका २१ टोल विकास संस्थाबाट २१ जना महिलाको सहभागिता रहेको छ ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष हुमकान्त सापकोट, नेकपा माओवादीका केन्द्रीय सदस्य तिलक योगी, तकियापुर खानेपानी संस्थाका अध्यक्ष तिलक केसी, कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष उदिराम डाँगी, मावि बालापुरका शिक्षक निर्मल नेपाली, भिमबहादुर वली, अम्बीका प्रसाद योगी, प्रेमराज न्यौपाने, ढुन्डिराज न्यौपाने, हुमराज योगी लगायतले खेलकुदले समुदायका सबै वर्गलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै सकारात्मक ऊर्जा फैलाउन भूमिका निर्वाह गर्ने भएकाले हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताएका थिए ।

वडा सदस्य मोहनलाल डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तुलसीपुर नगर युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस