२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

मानव सेवा आश्रम तुलसीपुरद्वारा सडक उद्धार अभियानलाई निरन्तरता

दाङ, ३१ साउन । मानव सेवा आश्रम तुलसीपुरले सडकमा आश्रय लिएकाहरूलाई उद्धार गर्ने अभियानलाई निरन्तरता दिएको छ। विगतका शनिबारझैँ यस शनिबार कृष्ण जन्माष्टमीको अवसरमा समेत मुसलधारे वर्षा बीच उद्धार तथा खोजी कार्य गरिएको हो ।

सडक मानव मुक्त अभियानलाई प्रभावकारी बनाउन स्थानीय सरकार, प्रहरी, पत्रकार तथा व्यवसायीहरूको सक्रिय सहभागितामा शनिबार तुलसीपुर बजार परिक्रमा गर्दै सडकमा रात बिताउने व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको थियो । सो क्रममा कुनै पनि सडक आश्रित व्यक्तिहरू नदेखिएकोमा उद्धारकर्ताहरूले खुसी व्यक्त गरेका छन् ।

मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले भन्नुभयो, “हाम्रो उद्देश्य कुनै पनि मानिसलाई सडकमा रात बिताउनु नपरोस् भन्ने हो । शारीरिक वा मानसिक रूपमा अशक्त भएकाहरूलाई परिवारको माया–प्रेम र आत्मसम्मानका साथ समाजमा पुनःस्थापित गर्नुपर्छ। हामी निरन्तर यस अभियानमा छौँ र जस्तोसुकै परिवेशमा पनि यसलाई जारी राख्छौँ ।”

मानव सेवा आश्रमले यसअघि पनि नियमित रूपमा सडक उद्धार अभियान सञ्चालन गर्दै आएको छ । उद्धारपछि सडकमा आश्रितहरूलाई आश्रममा लैजाई उपचार, पुनःस्थापना र आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने काम गर्दै आएको आश्रमले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस