दाङ, १९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरिले आगामी महाधिवेशनमा सह–महामन्त्री पदमा दाबी गर्ने घोषणा गरेका छन् । कुराकानीका क्रममा उनले पार्टीमा आफ्नो अनुभव, भूमिका र जिम्मेवारीका आधारमा सह–महामन्त्रीमा दाबी स्वाभाविक रहेको बताएका छन ।
गिरिले भने, “कांग्रेसमा केन्द्रीय सदस्य भइसकेकाले मेरो दाबी आगामी महाधिवेशनमा सह–महामन्त्रीमा हुन्छ, यो स्वाभाविक पनि हो । राजनीतिमा आत्तिनु हुँदैन, निष्ठा र विश्वासिलो राजनीति गरे सम्भावनाका ढोका खुल्छन् ।”
स्व. खुमबहादुर खड्काको राजनीतिक यात्रामा निकट मानिँदै आएका गिरिको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका रहँदै आएको छ । जिल्ला देखि केन्द्रसम्म खरो धारणा राख्ने र स्पष्ट विचारका वक्ताका रूपमा उनी परिचित छन् ।
गिरिले पछिल्ला दुई स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए । तर आन्तरिक गुटबन्दीका कारण जित हासिल गर्न नसकेका उनको दाबी छ । उनी वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका विश्वासपात्रका रूपमा पनि चिनिन्छन् ।
