२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

माघे सङ्क्रान्ति आज…

नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति। यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि। यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ।  सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।  बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख  छ  ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस