२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

सुनको भाउ तोलाको एक लाख ५ हजार पुग्यो

नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । सुनको भाउ उकालो लागिरहँदा पछिल्लो ९ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । आज सुन प्रतितोला एक लाख ५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रुपैयाँले मात्र कम हो । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस