२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

तुलसीपुर चेम्बरद्धारा महोत्सवको आय-व्यय सार्वजनिक

तुलसीपुर चेम्बर अफ कमर्सले २०७८ सालमा सञ्चालन गरेको व्यापारिक तथा पर्यटन महोत्सवको आयव्यय विवरण आज सार्वजनिक गरेको छ । तुलसीपुरमा रहेको चेम्बरको सभाहलमा आज बिहीवार पत्रकार सम्मेलन मार्फत चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले महोत्सवको लेखा प्रतिवेदन पढेर सार्वजनिक गरेका हुन ।

जसमा महोत्सवबाट जम्मा ४३ लाख ७१ हजार ६ सय ३७ रुपैयाँ संकलन भएकोमा ४७ लाख ६९ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । चेम्बरको प्रतिवेदन हेर्दा ३ लाख ९७ हजार ३ सय ६३ रुपैयाँ घाटा भएको देखिन्छ । तर, महोत्सवबाट अझै १६ लाख २५ हजार रुपैयाँ आउन बाकी रहेको तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ति मगरले जानकारी दिएका छन । उक्त रकम आएपनि चेम्बरलाई ३ लाख ९७ हजार ३ सय ६३ रुपैयाँ मात्रै नाफा हुने देखिएको छ । अध्यक्ष घर्ति मगरका अनुसार चेम्बरको तर्फबाट १२ लाख २७ हजार ६ सय ३७ रुपैयाँ अझै भुक्तानी गर्न बाकी रहेकोले नाफा रकम कम हुन गएको हो ।

महोत्सवमा टिकटबाट मात्रै ३२ लाख ५६ हजार ६ सय ३७ रुपैयाँ, स्टल बिक्रीबाट ७ लाख ७५ हजार र ४ लाख ७५ हजार अन्य सहयोग प्राप्त भएको चेम्बरका महासचिव गिरीले बताउनुभएको छ । यस्तै चेम्बरले राज्यलाई धेरै कर तिर्नु परेकोले आफूलाई घाटा भएको बताएको छ । अन्य संस्थाहरूले महोत्सव सञ्चालन गर्दा ८० हजार देखी एक लाख सम्म मात्रै राजस्व तिर्ने गरेको पाइएतापनी चेम्बरले ८ लाख १४ हजार ३ सय ८६ रुपैयाँ राजस्व तिरेको बताएको छ ।

महोत्सव २०७८ साल पुस १ गते देखी १२ गते सम्म तुलसीपुरमा सञ्चालन भएको थियो । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस