२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

राज्यले करको नाममा व्यवसायीलाई दुख्ख दिएको छ :- होटेल व्यवसायी

होटल व्यवसायीले राज्यले कर असुलका नाममा व्यवसायीलाई विस्थापित गराउन खोजेको बताएका छन् । कोरोना महामारी र पछिल्लो समय आर्थिक मन्दीको चपेटामा परेका होटल व्यवसायीलाई राज्यले कर असुलका नाममा आतंकित बनाएको उनीहरुको गुनासो छ ।

तुलसीपुर होटल व्यवसायी समितिले सोमबार तुलसीपुरमा गरेको नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा होटल व्यवसायीले राज्यले करको नाममा व्यवसायीलाई दुख दिएको गुनासो गरेका छन् ।

कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा तुलसीपुर होटल व्यवसायी समितिका सल्लाहकार नेत्रलाल वलीले आर्थिक तरलताको मारमा होटल व्यवसायी रहेको बताए ।

उनले कोरोनाको समयमा रोजगारी गुमाएका कर्मचारीलाई स्थापित गराउन नसकिरहेका व्यवसायीलाई राज्यले करका नाममा विस्थापित गराउन थालेको बताए ।

‘बैंकले हामीलाई फोन गरिरहेको छ, तिमीहरु किन व्याज हाल्दैनौँ ।’ उनले भने–‘आज बैंक पनि लिलामी सम्पति किन्ने मान्छे भेटाउन सकिरहेको छैन् ।’ होटल व्यवसायीले धेरैलाई रोजगार दिएपनि राज्यबाटै अपहेलित भएको उनले बताए । उनले दाङ सुरक्षित छ भन्ने सन्देश नजाँदा दाङका होटल व्यवसायी मारमा परेको बताए । दश वटै पालिकाले दाङ जिल्ला सुरक्षित छ भन्ने वातावरण निर्माण गर्न सके होटेल व्यवसायीलाई राहत मिल्ने उनले बताए ।

समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा नगरप्रमुख खड्काले परम्परागत भन्दा पनि व्यवसायीक हिसावले होटल व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिए । उनले तुलसीपुरमा पर्यटन क्षेत्रको विकास हुन सकेपछि होटल व्यवसाय फस्टाउने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले होटल व्यवसाय सुरक्षित बनाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

उपाध्यक्ष दोणर् आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा दाङ–देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष दिपेन्द्र पुनले कारोबार घटेको अवस्थामा राज्यले सहुलियत दिनुपर्ने बताए ।

गढवा होटल व्यवसायी समिति अध्यक्ष दयाराम थापा र भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेलवासेले नितिभित्र रहेर व्यवसाय संचालन गर्दा राज्यबाटै सास्ती पाएको बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका राजेश चौधरीले खाद्य सुरक्षामा जोड दिन व्यवसायीलाई आग्रह गरे ।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी व्यवसाय दर्ता गर्दा बुझेरमात्रै दर्ता गर्नुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण समितिका सचिव तुफान केसीले गर्नुभएको हो । त्यस अवसरमा २०८० सालको पात्रो बिमोचन गरिएको छ । नगरप्रमुख खड्काले पात्रोको बिमोचन गरेका हुन । कार्यक्रममा आउने अतिथिलाई पिपल पातको व्याज वितरण गरिएको थियो ।

साथै त्यस अवसरमा तुलसीपुर होटेल व्यवसायी समितिले प्रेस सल्लाहाकारमा पत्रकार जित सागर जिएमलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस