
नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद एक सय किलो बढि सुन प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय गरेको हो ।
एमालेले सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना भन्सारबाट सुन पास गर्न असम्भव हुने भन्दै निष्पक्ष छानविनको माग गरेको हो । बैठकपछि एमाले सांसद रघुजी पन्तले पटक पटक सुन आएको खवर प्रकाशित भएको अवस्थामा गम्भीरतापूर्वक गहिराईमा पुगेर छानबिन गर्न माग गरेको जानकारी दिए ।
उनले भरियालाई मात्रै नभई सुन ल्याउने मुख्य व्यक्तिलाई पक्राउ गरेर सुन ल्याउने काममा सघाउनेलाई कारवाही गर्नुपर्ने बताए । पन्तले सुन प्रकरणको लामो समय हुँदा पनि सरकारले कही काम नगर्न नसकेको बैठकको ठहर छ । यो प्रकरणको न्यायिक छानबिन समिति बनाउन पनि एमालेले माग गरेको छ ।