२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

तुलसीपुर उपमहानगरपालिकाद्वारा प्लास्टिकजन्य पुष्प गुच्छा नियन्त्रणमा

दाङ, १६ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य माला गुच्छा बिक्री वितरणमा रोका लगाएको छ । असोज महिनामै सूचना प्रकाशित गरेर बिक्री वितरणमा रोक लगाएपनि व्यवसायीहरुले बिक्री वितरण गर्दै आएपछि पालिकाले नियन्त्रणमा ल्याएको छ । 

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले बुधबार दश वटा पसलबाट प्लास्टिकका माला,गुच्छा नियन्त्रणमा ल्याएको बताएका छन । उनले असोज २३ गते नै नेपाल सरकारकले वातावरण संरक्षण ऐन २०७६को दफा १५ को उपदफा (६)ले दिएको अधिकार प्रयोग गरी नियन्त्रणमा लिइएको बताएका छन ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र मात्रै १५ जनाले व्यवसायीकरुपमा पुष्प व्यवसाय गर्दै आएका छन् भने संस्थागतरुपमा पढ्दै कमाउँदै अभियानअन्तर्गत मेट्रो कलेज, गोरखा मोडेल कलेज,गुरुजजुर मावि र अमर मावि उरहरीका विद्यार्थीहरुले पुष्प खेती गरेका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका,लमही नगरपालिका ,राप्ती गाउँपालिकाले प्लास्टिकजन्य पुष्प गुच्छा बिक्री वितरण नगर्न सूचना जारी गर्दै आएका छन् । यसैबीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पुष्प खेती गर्दै आएका व्यवसायीहरुको प्रवर्धन गर्नका लागि बजारका चार क्षेत्र बसपार्क,तुलसी मार्ट,तरकारी फलफूल बिक्री केन्द र अरनिको मैदान क्षेत्र निर्धारण गरेको बताएका छन ।

त्यस्तै पालिकाले पुष्प व्यवसाय प्रवर्धनका लागि डिजिटल प्रसार प्रचार, र पालिकाका कार्यक्रमहरुमा पुष्पका माला प्रयोग गर्दै आएको बताएका छन । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले प्लास्टिकजन्य पुष्प गुच्छा बिक्री वितरणमा रोक लगाउनु सकारात्मक काम भएको र यसले यस क्षेत्रका पुष्प व्यवसायीका लागि ठुलो राहत मिलेको बताएका छन ।

पुष्प व्यवसाय गर्दै आउनुभएका बुद्धिराज पौडेलले तुलसीपुर क्षेत्रका लागि चाडपर्वहरुमा एक सय ६० क्विन्टल पुष्पले पर्याप्त हुने बताएका छन । यस वर्ष तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा मात्रै ६ सय क्विन्टल बढी पुष्प उत्पादन भएको छ । उनले उत्पादन गरेको पुष्प काठमाडौँ, नेपालगञ्ज, महेन्द्रनगर,सल्यान, बुटवल, नेपालगञ्ज पठाउँदै आएको बताएका छन । तिहार पर्वलाई लक्षित गर्दै पुष्प विकास केन्द्रले भारतीय सयपत्री माला आयातमा रोक लगाएपछि यस क्षेत्रका किसान उत्साहित बनेका छन् । पुष्प व्यवसायी गणेश भण्डारीले भारतीय सयपत्री आयातमा रोक लगाएपछि आफूले उत्पादन गरेको पुष्प बिक्री वितरणमा सहज हुने बताएका छन ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस