
दाङ, १६ कार्तिक । सल्यानको कपुरकोटा गाउँपालिकाले मौलिक लोक कलालाई प्रदर्शन गरेको छ । गाउँपालिका भित्र रहेका एक दर्जनभन्दा बढी लहरे, पैसरु तथा सोरठी नाचहरुको मंगलबार कालिका माविको प्राङ्गणमा प्रदर्शनी गरिएको हो ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले लोप हुन लागेका कलाहरुको संरक्षणका लागि गाउँपालिकाले यो संगै आगामी दिनहरूमा सिपमुलक तालिम तथा बाजागाजाको व्यवस्थापन गर्ने पनि बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासककीय अधिकृत भरत वली, वडा अध्यक्षहरु, पत्रकार लगायत स्थानीयहरुको सहभागीता रहेको थियो । पालिका भित्र रहेका पुराना लोक संस्कृति पैसेरी, सोरठी, झ्यांगा, साइलो जी, ठाडो भाका लगाएतका लोक संस्कृति हराउँदै जान थालेको अवस्थामा गाउँपालिकाले लोक संस्कृति संरक्षणमा जोड दिएको हो ।

गाउँपालिकाका ६ वटै वडाबाट आएका नाचहरुको मुल्यांकन वरिष्ठ बाध्यवादक तथा गायक खर्क बहादुर बुढाले गरेका थिए । परापुर्व कालदेखि नै चलिआएका नाचहरुको ताल भुल्न नहुने उनले बताए । कार्यक्रममा सहभागि सबै नाचलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा एकल लोक गीत र एकल नृत्य प्रतियोगिता राखिएको थियो । एकल लोक गीतममा अनिता पुन प्रथम, पार्वती पुन दृतिय, दिलमाया घर्ती तृतीय र दिलकुमारी विक सान्त्वना भएका थिए भने एकल नृत्यमा यमुना पुन प्रथम, सिम्रन आरसी दृतिय, रिता घर्ती तृतीय र भावना बोहरा सान्त्वना भएका थिए ।