२०८२ चैत्र २७ गते शुक्रवार | 2026 April 10th Friday

वडाध्यक्ष कप टि – २० क्रिकेट सुरु, वडा न ११ र १२ को बिजयी सुरुवात

दाङ, १६ कार्तिक । तुलसीपुरको उरहरीमा बिहीबार देखि तुलसीपुर नगर स्तरीय वडा अध्यक्ष कप टि – २०  क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका ११ आयोजनामा अमर मावि  उरहरी खेल मैदानमा सञ्चालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले राष्ट्रको सान र गौरव जोडिएको खेल क्षेत्र सिङ्गो राष्ट्रको पहिचान भएको बताए । खेलकुद क्षेत्र राष्ट्रको पहिचान स्थापित गराउने एक दरिलो माध्यम हो यसको गरिमा लाई सदैव उच्च राख्न नितान्त आवश्यक रहेको बताए ।

साथै उनले क्रिकेट प्रति युवाहरूको आकर्षण बढाउन स्थानीय स्तरका गतिविधिलाई प्राथमिकतामा राखिएको बताए । तुलसीपुर क्षेत्रका खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने गरी दक्ष खेलाडी उत्पादनमा स्थानीय सरकारको भूमिकालाई थप सक्रिय बनाएको समेत उनले बताए । उपमेयर स्यानी चौधरीले वडा स्तरमा हुने खेल गतिविधिले खेलाडी उत्पादन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साथै खेलाडीलाई अनुशासनको उच्च पालना गरेर खेल खेल्न आग्रह गरे ।प्रतियोगिताको उद्घाटन समारोह तुलसीपुर उपमहानगरपालिका ११  वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्य एवं उपमेयर चौधरीको विशिष्ट आतिथ्यमा भएको हो ।

वडा न ११ का सदस्य प्रभा परियारको स्वागत रहेको कार्यक्रमको सञ्चालन वडा न ११ का सचिव पदम अधिकारीले गरे । 

यसैबीच प्रतियोगिता अन्तरगत पहिलो सम्पन्न खेलमा वडा न ११ र १२ बिजयी भएका छन् । वडा न ११ ले आफ्नो उद्घाटन खेलमा वडा न १७ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । तस्तै वडा न १२ ले वडा न ८ लाई १४ रनले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । यसैबीच प्रतियोगिता अन्तरगत शुक्रबार बिहान पहिलो खेलमा वडा न ११ बि र वडा न ७ भिड्नेछन् ।

त्यस्तै दोस्रो खेलमा वडा न १४ र वडा न १ भिड्ने आयोजकले जानकारी दिएकोछ । प्रतियोगिताको विजेता, उपविजेताले क्रमशः नगद २५ र १५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछन् ।  त्यस्तै खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ । कार्तिक २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा तुलसीपुर नगरका ११ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस