
दाङ, २१, मंसिर । दाङमा एक युवकले आफ्नो विहेमा गाईलाई भोज खुवाएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ अक्कासी निवासी शुसील खड्काले आफ्नो विहेमा हुने फजुल खर्च कटौती गरेर आफ्नै गाउँ नजिक रहेको गौशालामा गाईवस्तुलाई परालको व्यवस्था गरिदिएका हुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ निवासी प्राप्ति कँडेलसँग मङ्सिर १८ गते हेटौडामा सामान्य तरिकाले विहे गरेका खड्काले आदित्यनाथ गौशालामा रहेका गाईवस्तुलाई चार ट्रेक्टरको परालको व्यवस्था गरिदिएका हुन । एक कार्यक्रमको आयोजना गरेर तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का र सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गौशलाका अध्यक्ष भरतनाथ योगीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । गौशालामा रहेका तीन सय गाईबस्तुलाई करिब १५ दिनसम्म आहारा पुग्ने बताएका हुन । नव विवाहित खड्काले गाउँ नजिकै रहेका गाईबस्तु केही खान नपाएर बिरामी परेको देखेकाले परालको व्यवस्था गरेको बताएका हुन ।
त्यसैगरी नव दम्पतीले तुलसीपुर उपमहानगरपालिका – १९ संग्राम निवासी क्यान्सर पीडित विष्णुकुमारी रावतलाई पाँच हजार र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक विद्यालय दमारगाउँ कक्षा ३ मा अध्ययनरत अञ्जन खड्का र कक्षा ९ मा अध्ययनरत आशा राणालाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन ।