दाङ, २९ मंसिर । दाङको तुलसीपुरमा बिहिबारदेखि ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुर संचालित प्रतियोगिताको नेपाली काग्रेस तुलसीपुर नगर सभापति तथा त्रीशिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले उद्घाटन गरेका हुन ।
२०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँ पालिका वडा नम्बर ७ रोल्पा राँक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष हमालले मानव सभ्यता जत्तिकै पुरानो खेलकुदको विकास र विस्तारमा राज्यको दृष्टि पुग्न नसकेको बताएका हुन । खेलकुद राष्ट्रको सान र पहिचान मात्र होईन मानव स्वास्थ्यको अभिन्न अंग हो भन्ने कुरा खेलकुदका नीति निर्माताले नबुझ्नु र खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसक्नुले खेलकुदमा राज्यको दृष्टि पुग्न सकेन सहजै भन्न सकिने उनले बताएका हुन ।
तीन दशक अगाडिको खेलकुदलाई समीक्षा गर्दा बर्तमान खेलकुदले खासै फड्को मार्न नसकेको उनको भनाई छ । उहाँले अधिकांश खेल प्रशिक्षक सेवा निवृत्त भएर जाँदै गर्दा रिक्त ठाउँमा झण्डै दुई दशक देखि राज्यले पदपूर्ति गर्न नसक्नु बिडम्बना भएको बताएका हुन । उनले स्थानियस्तरबाट खेल विकासको स्पष्ट खाका कोरेर निजि स्तर बाटै खेलकुदको बिकास लाग्न सबैमा आग्रह समेत गरेका हुन ।
फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरीको अध्यक्षतामा भएको कार्यक्रममा तेक्वान्दोका अन्तराष्ट्रीय खेलाडी मोहन सुनार लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका हुन ।
त्यस अवसरमा नेपाली काग्रेस जिल्ला सदस्य रमेश मल्ल, नेपाली काग्रेस रोल्पा जिल्ला सदस्य अमृत बुढामगर, नेपाली काग्रेस तुलसीपुर नगर कोषाध्यक्ष प्रीतम श्रेष्ठ, भलिबलका पुर्व खेलाडी केशव राज खत्री, स्वर्गीय ललित बुढाका दाजु तेज बहादुर बुढामगर लगाएतको उपस्थिति रहेको थियो ।
भलिबलका राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्दको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच प्रतियोगिताको बिहिबार भएको खेलमा एसटिएफ र एसभिसी बिजयी भएका छन् । उद्घाटन खेलमा अखिल क्रान्तिकारीलाई २१-५ र २१-१० को सोझो सेटमा पराजित गर्दै एसटिएफले बिजयी सुरुवात गर्यो ।
त्यस्तै फेलोसिप ट्रेनिङ सेन्टरलाई २१-८ र २१-१४ को सोझो सेटमा पराजित गर्दै एसभिसिले बिजयी यात्रा सुरु गरेको हो । त्यसैगरि प्रतियोगिता अन्तरगत शुक्रबार बिहानको पहिलो खेलमा ज्ञानज्योति तुलसीपुर र रोल्पा भिड्नेछन् । खेल साढे नौ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितिय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार,कप, मेडल प्रमाणपत्र हात पार्ने छ्न् । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।