२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

महिला कृषि सहकारीमा लागेको ताला खुल्यो

दाङ, १८ पौष । दाङको तुलसीपुर उपमहानगरपालिका १४ ड्वाङपुरमा रहेको डुरुवा महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा गरिएको तालाबन्दी खोलिएको छ । गत पुस १२ गते सेयर सदस्यहरूको आफ्नो हिसाबकिताब माग्दा नदिएको, खाली भरपाईमा हस्ताक्षर गराएको, हिसाबकिताब पारदर्शी नभएको र सेयर सदस्यहरूले चयन गरेको ब्यक्तिलाई कार्यसमितिको पदमा नराखेको भन्दै तालाबन्दी  गरेका थिए । 

मंगलबार वडा कार्यालयमा भएको छलफलपछि सहमतिमा ताला खोलिएको हो । वडाध्यक्ष शंकर खड्का, जिल्ला सहकारी संस्था दाङका महासचिव शुक्रराज भण्डारी, जिल्ला कृषि सहकारी संस्था दाङकी अध्यक्ष पद्मा आचार्य, सहकारी संस्थाका सञ्चालक समिति, तालाबन्दी गर्ने सेयर सदस्य, स्थानीय प्रहरी प्रशासन लगायतको उपस्थितमा भएको छलफलमा विभिन्न निर्णयमा सहमति गर्दै तालाबन्दी खोलिएको एक सेयर सदस्यले बताइन् ।

यस्तै संस्थामा भएको आर्थिक हिसाबलाई आगामी दिनमा पारदर्शी बनाउने र  अहिलेसम्मको हिसाब सदस्य वा निर्णायक निकायले मागेका समयमा देखाई जाँच बुझ गर्न सहजीकरण गर्ने । अहिलेसम्मको हिसाब जाँच गर्नका लागि वडा सदस्य  पदम बहादुर बस्नेतको संयोजकमा सिता लामिछाने सदस्य र वडा कार्यालयका लेखा हेर्ने कर्मचारी सदस्य रहने गरी तिन सदस्य हिसाब जाँच समिति बनाई जिम्मा दिने सहमति भएको समेत उनले बताइन् ।

यस्तै संस्थामा रहेको रिक्त सञ्चालक समितिको उपाध्यक्ष पदमा संस्थाको विनियममा व्यवस्था भए अनुसार निर्वाचन समिति गठन गरि प्रक्रियामा पुरा गरेर निर्वाचन गर्ने । गीता चौधरीको हिसाब सम्बन्धमा किस्ता तथा ब्याज असुली गरि तिन महिनासम्म पोस्टिङ गर्दा व्यवस्थापनको कमजोरी भएको र पोस्टिङ अवधि तीन महिनाको ब्याज हर्जाना सम्बन्धमा सम्बन्धित ब्यक्तिबाट असुल गर्ने र आगामी दिनमा यस प्रकारको कमजोरी नगर्ने समेत सहमति भएको छ । 

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस