दाङ, २३ पौष । दाङको तुलसीपुरमा मानवसेवा आश्रमको भवन निर्माणार्थ श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । आउँदो माघ १३ गतेदेखि सञ्चालन हुने श्रीमद्भागवत महायज्ञ सञ्चालनको बारेमा सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सहयोगापेक्षी सडक आश्रित मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ लगाउन थालिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
मानवताको कुनै सिमा हुँदैन भन्ने मूल भावनाका साथ महायज्ञ सञ्चालन गर्न लागिएको मूल आयोजक समितिले बताएको छ। महायज्ञ तुलसीपुर उपमहानगरपालिका ५ स्थित अरनिको मैदानमा हुने मूल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका ४ हलवार स्थित कालिका मालिका मन्दिर व्यवस्थापन समितिले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ बिगाहा २ कठ्ठा जग्गा उपलब्ध गराएको छ ।
महायज्ञबाट ५ करोड आम्दानी गर्ने आयोजकको लक्ष्य छ । त्यसका साथै उक्त स्थानमा मानवसेवा आश्रमको मानवीय स्मारक निर्माण गर्ने आयोजकले बताएको छ । दाङ जिल्लालाई महायज्ञसँग जोड्ने उद्देश्य सहित तुलसीपुर, घोराही, लमही ,भालुबाङ लगायतका क्षेत्रमा क्षेत्रगत ९ जना सह- संयोजनहरू मनोनयन समेत गरिएको मानवसेवा आश्रमका महासचिव सुशीला केसीले जानकारी दिइन् ।
महायज्ञ सञ्चालन गर्नु पूर्व माघ ७ गते मानवसेवा आश्रमको मानवीय स्मारकको शिलान्यास लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्ने भएका छन् । यसैगरी महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको केसीले बताइन् । श्रीमद्भागवत ज्ञानविज्ञानको कथा वाचकमा भागवत् भास्कर श्रद्धेय गुरु कमलनयन गौतम रहेका छन् ।
२०८२ सालसम्म नेपाललाई सहयोगापेक्षी सडक मानव मुक्त देश बनाउने उद्देश्यले २०६९ भदौ १३ गते हेटौडामा मानव सेवा आश्रम स्थापना भएको थियो । हाल देशभर १९ जिल्लाका २४ स्थानमा सेवा केन्द्र सञ्चालन भएको छ । दाङमा भने २०७८ बैशाख ३ गतेदेखि भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालन भएको छ । हाल आश्रममा ७५ जना आश्रित छन् । हालसम्म आश्रमले ३५० बढी सडक आश्रितलाई उद्धार गरि ४३ जनाको पारिवारिक पुनर्मिलन भएको छ भने १९ जनाले आश्रममा प्राण त्याग गरेका छन् । श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार उपसमितिका संयोजक सुशील बस्नेतले गरेका थिए ।