दाङ, २७ पौष । नेपाल मगर संघ तुलसीपुर नगर कमिटीले तुलसीपुरमा मगर मौलिक सांस्कृतिक माघे संक्रान्ति २०८० आयोजना गर्न लागेको छ । विगतका वर्ष झै यस पटक पनि कार्यक्रमको आयोजना गर्न लागेको नगर कमिटीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कार्यक्रम तुलसीपुर ७ गणेशपुर पार्कदेखि उत्तरतर्फ रहेको खेल मैदानमा हुने समेत उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै नगरकमिटी अध्यक्ष हरि बुढामगरले मगर समुदायको माघी पर्व एउटा मौलिक सांस्कृतिक पर्व भएको हुँदा बसाइँसराइको क्रममा विस्तारै लोप हुने अवस्थामा रहेको हुँदा त्यसलाई जगेर्ना गर्न आफूहरू २०७८ सालदेखि तुलसीपुरमा कार्यक्रमको आयोजना गर्दै आइरहेको बताए ।
मगर समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरेको भन्दै उनले बाइसे, चौबिसे राज्य हुँदा देखि नै मगरहरूले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको समेत बताए । यो पर्वहरूमा आफूहरूले धनुषवाण खेल्ने, छोरीचेलीहरूलाई पुज्ने चलन रहेको रहेको उनको भनाइ छ । उनले भने,‘ हामी धनुषवाण किन खेल्छौ, भने हाम्रा पुर्खाहरूले पहिला यसैको प्रयोग गरेर नै सिकार खेल्ने गरेका थिए । त्यसैले हामीले यस धनुषवाणलाई जोगाउनको लागि माघी पर्वमा निशाना लगाउने कार्यक्रमको आयोजना गर्दै आएका छौँ ।’
उनका अनुसार माघ १ गतेदेखि ३ गतेसम्म कार्यक्रम हुने गर्दछ । माघी पर्वलाई मगर समुदायले प्रत्येक वर्ष हर्षउल्लासका रुपमा मनाउँदै आएको समेत उनले बताए । यस्तै उनले माघी पर्वलाई थारू समुदायले पनि नयाँ वर्षको रुपमा मनाउने गरेको भन्दै थारू र मगर यो देशको मूलवासी र भूमिपुत्र भएका कारण मनाउने गरेको समेत उनको भनाइ छ । यस्तै मगर समुदायको बुद्धिजीवी बलभद्र कुसारी मगरले आफूहरूको कला, संस्कृति संरक्षणको लागि आफूहरू निरन्तर रुपमा लागि परेको बताए । उनका अनुसार माघ १ गते नयाँ वर्षको शुरु हुनाको दिनमा एक वर्षभरी उत्पादन हुने बस्तुहरू पकाएर खाने र खुवाउने चलन रहेको छ ।
यस्तै उनले त्यही दिन माइतीहरूले छोरीचेलीहरूलाई पुज्ने र आफूहरूको भेषभुषहरू लगाएर धनुषवाण हान्ने संस्कार रहेको समेत बताए । यो संस्कारलाई बचाउन मगर समुदायहरू लागि रहेको भन्दै उनले यो आफूहरूको पहिलो दायित्व भएको पनि उल्लेख गरे । यस्तै ठाउँ अनुसार मगरहरूको भाषा फरक हुने गरेको उनको भनाइ छ । उनका अनुसार खाम, ढुँड , काइके, जस्ता भाषाहरू रहेका छन् । काइके भाषा डोल्पाका मगर समुदायले बोल्ने गरेको पनि उनले बताए । यस्तै ढुँड भाषा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मगर समुदायले बोल्ने गरेका छन्, भने खाम भाषा साविक राप्ती अञ्चलका मगर समुदायले बोल्ने गरेको उनको भनाइ छ ।
यस्ता भाषा, कला, संस्कार र संस्कृति बजाउनको लागि आफूहरू लागि रहेको भन्दै ढुँड भाषा पठनपाठनमा समेत रहेको उनले बताए । यस्तै नगर कमिटी सदस्य माया पुनले पनि पछिल्लो समय प्रविधिको विकास भएसँगै आफूहरूको मौलिक संस्कृति हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गरिन् । उनले भने,‘ हामीले हाम्रा सन्तानहरूलाई आफ्नो मौलिक संस्कृतिको बारेमा सिकाउँदै आएका छौँ । तर, पछिल्लो समय बाहिरी देखासिकी वा प्रविधि बढेसँगै हामीलाई समस्या भइरहेको छ । कतै हाम्रो मौलिक संस्कृति हराउने हो की ? भन्ने हामीलाई चिन्ता लाग्छ ।’ आफूहरूको मौलिक संस्कृतिलाई बचाउन आफूहरू लागि परिरहेको समेत उनको भनाइ छ । कार्यक्रमको सहजीकरण नगर सचिव दत्त बुढामगरले गरेका थिए ।