दाङ, २७ पौष । बंगलाचुली गाउँपालिकामा वृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिका र नेपाली सेना रणसिंह दल गण घोराहीको संयुक्त आयोजना तथा सैनिक अस्पताल नेपालगञ्ज बाँकेका विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको माध्यामिक विद्यालय मुलाबारी भेडाबारीमा शिविर सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले गाउँपालिकामा आर्थिक अभावको कारण कोहि पनि उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले विभिन्न समयमा स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्मा, ४ का अध्यक्ष डाँस बहादुर डाँगी, ८ का अध्यक्ष झविन्द्र बहादुर गाह, सैनिक अस्पताल नेपालगञ्जका कमान्डर प्राविधिक महासेनानी डाक्टर इन्दु केसी, आप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका विकास न्यौपाने, नेपाली सेना रणसिंह दल गण घोराहीका प्रमुख सेनानी नरेशभक्त अधिकारी ,मावि मुलाबारी भेडावारीका प्रअ खगराज लम्साल ,वडा नम्बर ३ का सदस्य हरिप्रसाद घर्तिमगर लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसीले गरेका थिए । शिविरमा मेडिसिन, महिला रोग, दन्तरोग, हाडजोर्नी, थाइराइड, सुगर प्रेसर जस्ता रोगहरूको रेडियोलोजिस्ट भिडियो एक्सरे सहित चेकजाँच गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिए ।