
दाङ, ५ माघ । तुलसीपुर उपमहानगरपालिकाको प्राकृति स्रोत साधन तथाअनुगमन समितिले पछिल्लो आफूहरूको विरुद्धमा सामाजिक सञ्जालमा तथा बाहिर आएको कुराहरूको आपत्ति जनाएको छ । गत पुस २६ गते ट्याक्टर व्यवसायीहरूले र सामाजिक सञ्जालमा आफूहरूलाई पैसा खाएर ट्याक्टर छोडेको भन्ने आरोप लगाएको कुरा सत्यता नभएको जनाएको छ ।
बिहीबार उपमहानगरका समितिले पत्रकार सम्मेलन जारी गर्दै आफूहरूले कुनै गल्तीहरू नगरेको समेत बताएको छ । समितिका संयोजक तथा तुलसीपुर १४ का वडाध्यक्ष शंकर कुमार खड्काले अवैध रुपमा ढुंगा ल्याएको ट्याक्टरलाई नियन्त्रण लिएर आफूहरूले राजश्व उठाउँदा समेत आफूहरूको बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाए ।
उनले भने,‘ राजश्व नतिरेका ट्याक्टरहरूलाई हामीलाई नियन्त्रणमा लिएका थियौँ । राज्यलाई राजश्व छल्न हामीलाई आरोप लगाइएको थियो । हामीले मेयर सापलाई अनुसन्धान गर्न दिएका थियौँ । तर, हामीले त्यस्तो गल्ती नै गरेका छैनौँ । राम्रो काम गर्दा हामीलाई बदनाम गर्न खोजेकोमा हाम्रो आपत्ति छ ।’ उनका अनुसार समितिले अवैध रुपमा ढुंगा, गिट्टी बालुवा बोक्ने गाडी र अवैध रुपमा ढुंगा, गिट्टी बालुवा थुपारेको नियन्त्रण लिएर हालसम्म ४० लाख राजश्व संकलन गरेको छ । यस्तै समितिका सदस्य एवं तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले पनि बाहिर आएको कुरा गलत भएको बताए ।
उनले भने,‘ यदि हामीले प्रहरी वा कुनै पनि ट्याक्टर धनीसँग सेटिङमा काम गरेको भए आज राजश्व यति धेरै उठ्ने थिएन होला । हिजोको दिनहरूमा भन्दा पुस मसान्तसम्म राजश्व सङ्कथनबाट प्रष्ट हुन्छ, हामीले कुनै बेमानी गरेका छैनौँ । बरु हामीलाई बदनाम गर्न खोजियो ।’ आफूहरू सयौँ गाडीहरू रातविरात अहोरात खटेर पक्राउ गर्दै आइरहेको भन्दै उनले हिजोका दिनहरूमा सेटिङमै काम गर्न नपाएकाहरू अहिले छटपटाइरहेको समेत बताए ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख टिकाराम खड्काले समितिका पदाधिकारीहरू अहोरात्र खटेर अवैध रुपमा काम गर्ने गाडीहरू नियन्त्रण लिएर राजश्व संकलन गर्ने काम गरेको बताए । अहिले बाहिर हल्ला आएको जसरी समितिले कुनै पनि सेटिङमा काम नगरेको समेत उनले दाबी गरे ।
यस्तै आफूहरूले जिम्मेवारी दिएका व्यक्तिहरूले गलत गरेको भेटाएमा कारबाही गर्ने समेत उनले बताए । यस्तै उनले आफूहरूले गरेको कामलाई उपमहानगरका जनप्रतिनिधिहरूले साथ नदिएको समेत आरोप लगाए । आफूहरूले आफूहरूका विरुद्धमा लाग्ने जनप्रतिनिधिहरू पत्ता लगाएको भन्दै उनीहरूको विरुद्धमा कार्यपालिकाको बैठकमा कुरा उठाउने समेत उनले बताए ।
यस्तै उपमहानगरले अबैध रुपमा खोलाबाट गिट्टी, बालुवा उठाउने ट्याक्टरलाई २५ हजार, टिपरलाई ५० हजार र स्काइभेटरलाई ५० हजार जरिवाना स्वरुप राजश्व तोकेको समेत उनले बताए ।
उनले भने,‘ यदि कुनै गाडिले पहिलो पटक गरेको खण्डमा हामीले तोकेको राजश्व संकलन गर्छौँ । यदि त्यहि गाडि फेरि भेटिएको खण्डमा जरिवाना डबल, त्रिपल हुन्छ । ’ यस्तै उनले उपमहानगरले विगतका बर्षहरुमा ठेक्दारहरुलाई उत्खनन गर्ने जिम्मा दिँदा तोकेको मापदण्ड भन्दा धेरै उठाएर पहाड बनाउने प्रचलन रहेको बताए । अहिले उपमहानगरले नै उत्खखन गरेर त्यसलाई टेन्डर खोलेर बिक्री गर्ने समेत बताए । अहिले १२ ठाउँमा आइई गरेको र १३ ठाउँमा आइई गर्ने प्रक्रियामा रहेको समेत बताए । गत पुस २६ गते केही ट्याक्टर व्यवसायीहरूले उपमहानगरले आफ्ना ट्याक्टरहरू नियन्त्रण लिएर आफूहरूलाई दुख दिएको भन्दै उपमहानगरको गेटमा नाराबाजी गर्दै तालाबन्दी गरेका थिए , भने समितिलाई विभिन्न किसिमका आरोप समेत लगाएका थिए ।