प्यूठान, ५ माघ । प्यूठानको पर्यटकीय क्षेत्र मल्लरानीमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ छिट्टै सञ्चालन हुने भएको छ । निर्माणधिन अवस्थामा रहेको जिपलाइनको परिक्षण चलिरहेको छ । सुस्ताउँदै गइरहेको सदरमुकाम खलंगाको अनुहारमा चमक ल्याउनका लागि जीपलाइनको अवधारणा अघि सारिएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए ।
मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समूह तथा पालेबन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा जीपलाईन संचालन हुनेछ । दुबै सामुदायिक वन उपभोक्ता समूहले आ–आफ्नो कार्ययोजना भित्र पर्यापर्यटन अन्तर्गत जिपलाईन संचालनलाई अघि बढाएका छन् । कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समूहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया, भाडामा लिने प्रक्रिया तथा स्वामित्वबारे सहमती हुने भारतीले बताए ।
‘ केहिदिन भित्रै औपचारिक रूपमा जीपलाईनको उद्दघाट्न गरिने उनले बताए । जिपलाइन खेलको उडान विन्दुदेखि अवतरण विन्दुसम्मको दूरी ६ सय ५० मीटर को रहेको छ । उनले सो खेल नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक पटकमा एक हजार देखि एक हजार पाचसयसम्म लाग्ने बताए । सबै उमेर समूहका व्यक्तिले खेल्न सकिने सो खेल दिनको ६० जनासम्मले खेल्न सकिने उनको भनाइ । टिकट बुकिङ गर्नेका लागि तौल र सबै प्रकारको स्वास्थ्य जाँचपछि मात्रै सो खेलमा सहभागी गर्नसक्ने नियम रहेको छ । जिपलाइन खेल सञ्चालनमा आएपछि प्यूठानको मल्लरानीमा आन्तरिक तथा बाह्य पर्यकटको थप आकर्षण बढ्ने पर्यटन व्यवसायी बताउँछन् ।