२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

लाइन्स क्लब अफ क्यापिटल दाङद्वारा खड्कालाई आर्थिक सहयोग हस्तान्तरण

दाङ, ११ माघ । तुलसीपुरमा रहेको लाइन्स क्लब अफ क्यापिटल दाङले मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तुलसीपुर ८ का हरि बहादुर खड्कालाई आर्थिक सहयोग गरेको छ । क्लबले देश तथा विदेशमा रहेको नेपाली दाजुभाइहरूको संकलन भएको करिब ७ लाख ७५ हजार ३ सय ५४ रुपैयाँ रकम खड्कालाई बिहीबार एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो । 

क्लबका अध्यक्ष दीपक केसीका अनुसार २०७५ पुस १२ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उनलाई आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको थाहा पाएपछि आर्थिक संकलन अभियान शुरु गरिएको थियो । उनले भने,‘ दुर्घटनामा परी घाइते भइ करिब एक वर्षदेखि आर्थिक अभावका कारण घर मै बसेको थाहा पाएपछि हामीले उनको उपचारको लागि आर्थिक संकलन गरेका थियौँ । क्लबका सदस्य, यहाँका विभिन्न व्यक्ति तथा विदेशमा रहेको दाजुभाइहरूको सहयोग जुटेको थियो । त्यही रकम आज हामीले उनलाई हस्तान्तरण गरेका थियौँ । ’ उनका अनुसार हालसम्म संकलन भएको ७ लाख ७३ हजार ३५४ रुपैयाँको हस्तान्तरण गरिएको थियो । 

यस्तै उनले यस्ता सामाजिक कार्यहरू आगामी दिनहरूमा गर्दै जाने समेत बताए । यस्तै घाइते खड्काले आफू घर जाने क्रममा २०७५ साल पुस १२ गते तुलसीपुरमा रहेको चमीखोलामा दुर्घटनामा परेको बताए । उनका अनुसार उनी मोटरसाइकलमा पछाडि सवार थिए । दुर्घटना पनि आफूले अहिलेसम्म ३५ लाख बढि खर्च गरेर उपचार गरेको भएयता पनि आर्थिक अभावका कारण करिब एक वर्षदेखि घर मै पीडा सहेर बस्दै आएको बताए । उनले भने,‘ अहिलेसम्म ३५ लाख जति खर्च भएको होला । मेरो शरीरको आधा भागले काम गर्दैन । दुर्घटना भएपछि मेरो दाहिने हातको सबै नसाहरू चुडिँदा काम गरेको छैन् । असाध्य पोल्ने गरेको छ । आर्थिक अभावका कारण त्यो पीडा एक वर्षदेखि घर मै बसेर सहन बाध्य भए । ’

उनका अनुसार अहिलेसम्म ३ वटा अप्रेसन भएका छन् । आफू आर्थिक अभावमा घर मै बसेको कुरा क्लबका अध्यक्षलाई बताएपछि उहाँहरूको टिमले अहिले आफूलाई उपचारको लागि आर्थिक सहयोग गरेपछि उपचारमा केही राहत मिलेको समेत उनले बताए । उनले आज नै उपचारको लागि काठमाडौँ जानका लागेको पनि बताए । उनले काठमाडौँको ब्लुक्रम अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदै आएको समेत बताए । 

उनका अनुसार आफू पूर्ण रुपमा निको हुनको लागि अझै करिब २० / २५ लाख खर्च लाग्ने अनुमान रहेको छ । नशाको समस्या भएको हुँदा अप्रेसन गरेर मात्र नहुने हुँदा फिजियोथेरापी समेत गर्नु पर्ने भएकाले खर्च हुन सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस