२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

सल्यानको कपुरकोट गाउँपालिकाद्धारा उत्कृष्ट किसान र कर्मचारीलाई सम्मान

सल्यान, १७ माघ । सल्यानको कपुरकोट गाउँपालिकाले व्यवसायिक रुपमा खेती गर्ने उत्कृष्ट कृषक र पशुपालन गर्ने किसानलाई सम्मान गरेको छ । गाउँपालिकाको १४ औं गाउँसभाको उद्घाटनका अवसरमा व्यवसायिक खेती र पशुपालन गर्ने किसानलाई सम्मान गरिएको हो ।

गाउँपालिकाको सामाजिक बिकास समितिको सिफारिसमा बेमौषमी तरकारी खेती गर्ने, पशुपालन गर्ने, फलफूल खेती गर्ने तथा मौरी पालन गर्ने पालिका स्तरका १० जना किसानलाई नगद ५ हजार र ६ वटै वडा स्तरमा १८ जना किसानलाई नगद ३ हजार सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिएका थिए । यस्तै गाउँपालिकालाई आर्थिक बर्ष २०७९।०८० मा कार्य सम्पादनका आधारमा स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह बित्तिय सुशासन जोखिम मुल्यांकनमा कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो बनाउन भुमिका खेलेको भन्दै प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीलाई सम्मान गरिएको छ । गाउँपालिकाको समग्र बिकास निर्माण तथा सेवा प्रबाहमा अब्बल भुमिका निर्बाह गर्ने कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ । १४ औं गाउँसभाका अवसरमा योजना तथा प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाही, आर्थिक प्रशासन शाखा प्रमुख बिष्णु प्रसाद आचार्य लगायत अन्य १५ जना कर्मचारी र स्वास्थ्य स्वयमसेबिकालाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिएका थिए ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा भएको गाउँसभाको उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिका कार्य सम्पादनमा जिल्ला,प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल र बिशिष्ट अतिथि उप प्रमुख असबीर बुढाथोकीले औपचारिक रुपममा बधाई दिदै प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो । न्यायिक ईकाइका प्रमुख जीबराज केसीले सहजिकरण गरेको कार्यक्रममा बोल्दै पूर्ब वडा अध्यक्षहरु हरिलाल पुन,यम कुमार बस्नेत र हेरम बहादुर बुढाथोकीले आफुले थालनी गरेका कार्य तर अपुरा रहेका योजनाहरुलाई पूर्णता दिन सुझाब दिएका थिए । 

यस्तै कार्यक्रममा राप्रपाका भिम बहादुर बुढा, एकिकृत समाजबादीका कपुरकोट सचिब तिलक शर्मा, माओबादी केन्द्र कपुरकोटका सचिब पवन कार्की, नेकपा एमाले कपुरकोटका अध्यक्ष द्रोण केसी र नेपाली काँग्रेसका पूर्ब क्षेत्रिय सभापति दुर्गा बहादुर गिरीले गाउँपालिकाबाट हुने हरेक बिकास निर्माणका काममा राजनितिक सहकार्य गरेर योजना कार्यान्वयन गर्न अनुरोध गरेका थिए । आज मंगलबारबाट सुरु भएको गाउँसभा बिभिन्न कार्यबिधि,ऐन तथा योजनाहरु संशोधन सहित गाउँसभाबाट पारित गदै भोली सकिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस