२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

दाङ छिल्लीकोटमा जिपलाइन सञ्चालनको तयारी अन्तिम चरणमा

दाङ, १९ माघ । दाङमा  देश कै दोस्रो लामो जिपलाइन सञ्चालनमा आउन थालेको छ ।  २०७८ साल जेठदेखि निर्माण शुरु गरेको जिपलाइन सञ्चालनको अन्तिम तयारी रहेको छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक शिव श्रेष्ठका अनुसार ९५ प्रतिशत काम पुरा भएको र अब ५ प्रतिशत बाँकी रहेको हुँदा चैते दशैँका दिन उद्घाटन गरेर सञ्चालनमा ल्याउन तयारी रहेको छ । उनले भने,‘ निर्माण कार्य शुरु भएको करिब ३ बर्ष हुन लाग्यो । हामीले समय मै काम गर्न खोजेका थियौँ । विभिन्न बाधा अवरोध तथा प्राविधिकहरू समयमा नआउँदा एक वर्ष ढिला  हुन गएको  हो । अब चैते  दशैँका सञ्चालन गर्ने तयारमा हामी रहेका छौँ ।’ उनका अनुसार जिपलाइनमा अहिलेसम्म एक करोड ३० लाख लगानी लागेको छ ।

छिल्लीकोट ऐतिहासिक, पौराणिक तथा धार्मिक ठाउँ भएको हुँदा र यहाँबाट विभिन्न हिमाल तथा दाङको समतल भूमि देखिने भएकाले यसलाई पर्यटकीय रुपमा विकास गर्न आफूहरूले जिपलाइनको सञ्चालनमा ल्याएको उनको भनाइ छ । उनका अनुसार छिल्लीकोटमा बाइसे, चौबिसे राजाहरूले राज्य र सतीदेवीको अंग पतन भएको ठाउँ हो ।जिपलाइनसँगै छिल्लीकोटमा १० कठ्ठा जग्गा लिएको र रिसोर्ट बनाउने योजना रहेको  पनि उनले बताए । यस्तै उनले पर्यटकहरूको अवस्था हेरेर छिल्लीकोटमा थ्रि स्टारसम्मको होटल बनाउने योजना रहेको र त्यसको लागि स्वीकृति लिइसकेको समेत बताए । जिपलाइनको दूरी करिब  १२ सय मिटरको रहेको छ ।  

कालिका मन्दिरबाट सुरु हुने र भुल्के सामुदायिक वनको चोरकाटेमा ल्यान्डिङ हुनेगरि निर्माण गरिएको उनले बताए ।

 यो दूरी पार्न गर्नको लागि प्रतिघण्टा ८० को गति रहेको र बढिमा २ मिनेटमा पार गरिन्छ ।  उनका अनुसार जिपलाइन देशका विभिन्न ठाउँहरूमा रहेको र त्यहाँ प्रयोग गर्न २÷३ हजारसम्म शुल्क रहेको समेत उनले बताए । यसको क्षमता एक सय ५० किलोसम्म रहेको छ ।   पर्यटकमय सम्भावना रहेको छिल्लीकोटमा आफूले जिपलाइन सञ्चालन ल्याउन थालेपछि यहाँका स्थानीयहरू पनि निकै खुशी भएको र साथ दिइरहेको समेत उनले  बताए । छिल्लीकोटबाट प्युठानको स्वर्गद्वारीसम्म जानको लागि सडक भएमा यहाँबाट पर्यटकहरू उता जाने र जसका कारण यहाँको विकास हुने पनि उनको भनाइ छ ।

उनले भने,‘ अहिले पनि यहाँ स्थानीय पर्यटकहरू आउने गरेका छन् । तर, यहाँबाट सिधै स्वर्गद्वारी जानको लागि  सडक भएमा यहाँको मात्र नभइ जिल्लाको विकास हुन्छ । जिल्लामा धेरै धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् । जहाँ हामीले प्याकेज अनुसार पर्यटकलाई घुमाउन सक्छौँ । त्यसतर्फ राज्यले ध्यान दिन जरुरी छ ।’ उनले यसबाट आम्दानी हुने रकम मध्य वनलाई  ५ प्रतिशत, छिल्लीकोट विकास समितिलाई ५ प्रतिशत र उपमहानगरलाई १३ प्रतिशत  कर तिर्ने बताए ।

स्थानीय खुशी, आयआर्जन बढ्ने अपेक्षा

                           चैते दशैँको दिन उद्घाटन गरी  सञ्चालनमा ल्याउन थालिएको जिप लाइनको बुधबार परिक्षण गरिएको थियो । गाउँमा त्यो पनि पहिलो पटक जिप लाइन सञ्चालन हुन लागेको देखेका स्थानीयहरू  पनि परिक्षण हुँदै गरेको दृश्य हेर्न आइपुगेका थिए । स्थानीय पुष्प रानाले जिप लाइनको दृश्य  देख्दा रमाइलो र डर लागेको बताइन् ।  गाउँमा पहिलो पटक नयाँ कुरा देखेको भन्दै उनले धेरै खुशी लागको र यसले यहाँका लागि थोरै भएपनि विकासमा सहयोग पुग्ने बताइन् । छिल्लीकोटमा पछिल्लो समय विद्युत, खानेपानी पुगेको भएयता पनि सडक राम्रा नहुँदा समस्या भइरहेको उनको  भनाइ छ ।

छिल्लीकोटमा अहिले भ्युटावर, मन्दिर लगायतका संरचनाहरू रहेका छन् । जहाँ अहिले पनि स्थानीय पर्यटकहरू घुम्न आउने गरेका छन् । गाउँमा १० वटा होमस्टे सञ्चालनमा रहेका छन् । अब जिप लाइन सञ्चालन आएपछि आफूहरूलाई थप फाइदा हुने  अर्का स्थानीय जीवराज रेउले बताए ।  छिल्लीकोटसम्म आउन सडक राम्रो हुनु पर्ने उनले बताए । उनले भने,‘ छिल्लीकोट धार्मिक, ऐतिहासिकका कारण पर्यटकीय क्षेत्र हो । तर, यसको सोचे जस्तो प्रचार प्रसार भएको थिएन । तर, एक जन ब्यक्तिले करोडौँ लगानी गरेर जिपलाइन सञ्चालनमा ल्याएपछि यसले यहाँको प्रचार प्रसार र विकास हुनेमा हामी ढुक्क छौँ ।’

जिप लाइन सञ्चालनले यहाँको विकासमा टेवा पुग्ने र यहाँका नागरिकहरूलाई फाइदा पुग्ने भुल्के सामुदायिक वनका अध्यक्ष नन्दराम रोकाले बताए । यो जिल्ला मै नयाँ अवधारणा भएको हुँदा पनि स्थानीयहरू निकै खुशी भएको उनले बताए । शुरुमा यो ठाउँमा जिपलाइन  निर्माण गर्न दिन अनुमति लिँदा केही समस्या भएको भन्दै पछि यसले  वनलाई कुनै क्षति नपुग्ने भएपछि काम सहज रुपमा अगाडि बढेको समेत बताए ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस