दाङ, ८ फागुन । दाङका १४ वर्षीय एक विद्यार्थीले निर्माण गरेको नमुना हवाइ जहाजको परिक्षण गरिएको छ । घोराहीका सक्सेस जिसीले बनाएको हवाइ जहाजको सोमबार बिहान दाङको टरिगाउँ विमानस्थलमा उडान परीक्षण गरिएको थियो । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत जिसीले सेस्ना मोडेलको ४० इञ्च लम्बाइ र ५४ इञ्च चौडाइ रहेको ८ सय ग्राम भन्दा बढि तौल भएको नमुना जहाज बनाएका थिए । यो जहान निर्माण गर्न करिब २० हजार खर्च लागेको उनको भनाइ छ ।
उनले भने,‘ मैले यस अघि तिन वटा बनाइ सकेको थिए । तर, ति सफल भएका थिएनन् । यो मेरो चौथो प्रयास हो ? आज उडान सफल भए, धेरै खुशी लागेको छ । सबैबाट राम्रो प्रतिक्रिया पाएको छु । यसले मलाई धेरै हौसला दिएको छ । ’ यस्तै उनले सानै उमेरदेखि नै आफूलाई यस्तै किसिमको काम गर्न मन लागेको भन्दै आगामी दिनहरूमा सबैको साथ र सहयोग पाएमा मान्छे बसेर उडान मिल्ने बनाउने समेत बताए । अर्घाखाँचीमा उनले कक्षा ८ सम्म उतै पढेको र कक्षा ९ देखि गुरुकुलमा पढ्न थालेको पनि बताए ।
सानो उमेरमा हवाइ जहाज निर्माण गरेर राम्रो प्रतिभा देखाएको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजङ्ग शाहले जिसीलाई आफू कुनै पनि सहयोग गर्न तयार रहेको बताए । पछिल्लो समय देशमा भएका यस्ता प्रतिभाहरू विदेश गइरहेको भन्दै उनले यस्ता प्रतिभाहरूलाई अवसर दिनु पर्ने बताए । उनले भने,‘ यति सानो उमेर आज सक्सेसले जहाज बनाएर उडाए । अहिले हाम्रो समाजमा बाह्र पास गरेपछि विदेश जाने भन्ने मानसिकता रहेको छ । हामीले यस्तो प्रतिभाहरूलाई यही देशमा राख्नको लागि अवसर दिनुपर्छ । त्यसका लागि राज्यले ध्यान दिनुपर्छ ।’
यस्तै उनले टरिगाउँ विमान स्थलमा नियमित उडान तथा स्तरोन्नति नहुँदा यहाँका नागरिकहरूले निकै सास्ती भोगेको भन्दै नमुना हवाई उडान परीक्षणले नेताहरूलाई दवाव दिने समेत बताए । उनले भने,‘ जहाज नआउँदा आज विद्यार्थीले बनाएको नमुना हवाइ जहाजको परिक्षण गरिएको छ । अब के यो विमानस्थल यस्तै कार्यका लागि प्रयोग गर्न कि ? स्तरोन्नति गरेर नियमित हवाइ सेवा दिने, भन्ने बारेमा यसबाट उनीहरूको आँखा खुल्ने छ । ’ यस्तै उनले दाङका नेताहरूले विमानस्थलको बारेमा चुनावी नारा मात्र बनाउने र यसलाई भोट बैंकका रुपमा मात्र लिने गर्दा यहाँका नागरिकहरू दुख पाएको समेत बताए ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका ३ का वडाध्यक्ष वीर बहादुर बिकले सानो उमेरमा नमुना जहाज बनाएर विभिन्न प्रतिभा भएका जनशक्ति नेपालमा रहेको भन्ने यसले सन्देश दिएको बताए । उनले विभिन्न प्रविधिमा काम गर्ने यस्ता ब्यक्तिहरूलाई प्रवर्द्धन गर्न राज्यले ध्यान दिनु पर्ने समेत बताए । जिसी गुरुकुल एकाडेमीको मात्र नभइ समग्र राष्ट्रको गहना भएको भन्दै उनले यस्ता प्रतिभाहरूले माथि उठाउन स्थानीय सरकार तयार रहेको समेत बताए ।
उनले बालबालिकामा भएका विभिन्न प्रतिभाहरूलाई बाहिर ल्याइ प्रवर्द्धन गर्नको लागि सबैले ध्यान दिनु पर्ने समेत बताए । उनले भने,‘ विद्यालयहरूले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभइ उनीहरु भित्र रहेका क्षमता बाहिर ल्याउन पनि ध्यान दिनु पर्छ । अहिले कतिपय क्षमता भएका ब्यक्तिहरू अवसर नपाएर बसेका छन् । यस्तो कार्यक्रमहरूले उनीहरूलाई हौसला हुन्छ । यसमा सम्बन्धित विद्यालयले पनि ध्यान दिन जरुरी छ ।’
यस्तै गुरुकुल एकाडेमीका सिइओ, इन्जिनियर अनन्तराज घिमिरेले विद्यार्थीहरूमा विभिन्न किसिमका प्रतिभाहरू हुने भएकाले ति प्रतिभाहरू बाहिर ल्याउनको लागि सबैले सहयोग गर्नु पर्ने बताए । उनले यति सानो उमेरबाट जिसीले आफ्नो प्रतिभा देखाएर समाजमा राम्रो सन्देश दिएको समेत बताए ।
उनले भने,‘ कुनै पनि आविष्कारमा हाम्रा बालबालिकाहरू देशको लागि तयार रहेका छन् भन्ने देश र विद्यालयले सोच्नु पर्छ । उनीहरूसँग विभिन्न प्रतिभाहरू हुनसक्छन्, उनीहरूलाई हामीले मौका दिनुपर्छ । ’यस्तै उनले पढ्ने भन्ने कुरा सिक्ने भएको भन्दै किताब पढेर मात्र नहुने भन्दै जीवनको सिकाइमा सबै कुराहरू थाहा पाउनु पर्ने पनि उल्लेख गरे । उनले भने,‘ हामीले व्यवहारिक ज्ञान भन्दा पनि किताबी ज्ञान दिने गरेका छौँ । अभिभावले पनि मेरा सन्तानले कति नम्बर ल्यायो, भन्ने छ । यसले जीवनमा नम्बर नभइ कुनमा कति दक्षता छ, भन्ने हो ? हाम्रो विद्यालयले जीवन सिकाइ ज्ञान दिँदै आएको छ । जसको उदाहरण सक्सेस पनि एक हुन् ।’
यस्तै उनले अहिले फेसन जस्तै कक्षा १२ पास गर्ने बित्तिकै विदेश जाने अवस्था रहेको भन्दै त्यो रोक्नको लागि राज्यले ध्यान दिनु पर्ने समेत बताए । उनले देशमा सबै कुराहरू हुँदा पनि यहाँ केही नभएको भन्दै बाहिर जाने गरेको हुँदा केही समयमा देश नै रित्तिन सक्ने समेत बताए ।
उनले भने,‘ यति राम्रो देशमा मासिक २० / ३० हजारको जागिर गरेका ब्यक्तिहरू पनि यहाँ केही हुँदैन, भनेर विदेश जाने चलन बढिरहेको छ । विदेशमा २४ घन्टा खटिएर काम गर्दाको पीडा भन्दा देश मै थोरै कमाएर रमाउँदा राम्रो हुन्छ । यो रोक्नको लागि तपाई हामीबाट नै शुरु गर्न जरुरी छ । त्यसपछि राज्यले पनि ध्यान दिन जरुरी छ । यो देशमा विदेशको जतिकै मेहेनत गरे सबै कुराको सम्भव छ ।’