२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

खाजा खर्च बचाएर साथीलाई सहयोग (भिडियो सहित)

दाङ, १४ फागुन । सरस्वती ईङ्गलिस बोर्डिङ स्कुल तुलसीपुरका विद्यार्थीले खाचा खर्च बचाएर साथीलाई सहयोग गरेका छन् । विद्यालयमा अध्ययन गर्दै आएका तुलसीपुर ५ का कमल घर्ती (सुनिल) को जिवन बचाउनका लागि विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिका र कर्मचारीले खाजा खर्च बचाएर नगद १६ हजार २ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । 

सुनिल विगत २ वर्ष देखी कलेजाको रोगले ग्रसित भएर घरमै थलिएका छन् । कक्षा ७ मा पढ्दै गरेका १३ वर्षिय सुनिल खान र बोल्न समेत नसक्ने भएका छन् ।

कक्षा १० मा अध्ययनरत मुनलाईट कुसारीले साथीको मध्यमबाट युट्युव च्यानल रियल मिडिया नेपालमा सुनिलको भिडियो देखेपछि सहयोगको भावना जागेको बताईन । 

आफ्नो भाई सरहको मान्छेलाई थलिएको थाहा पाएपछि साथी पवित्रा डाँगी, मुस्कान शेर्पा, गुरु आमा पुष्पा निरौलालाई आर्थिक सहयोग जुटाउनेबारे सुनाएको र सबै मिलेर रकम संकलन गरेको कुसारीले बताइन् । 

कक्षा ७ सम्म पढेका विद्यार्थीको यस्तो अवस्था थाह पाएपछि आफुहरुले पनि विद्यार्थीले थालेको आर्थिक सहयोग संकलन अभियानमा सहभागि भएको विद्यालयका सहायक प्रधानाध्यापक पुष्पा निरौलाले बताइन । यो सहयोग पहिलो प्रयास भएको र पछि पनि आर्थिक संकलन गर्ने विद्यालयका शिक्षक मेघराज रोकाले बताए । 

विद्यार्थीले संकलन गरेको रकमलाई सुनिलको घरमै गएर रियल मिडिया नेपालका सञ्चालक एचआर मगर, सञ्चारकर्मी यज्ञबहादुर बुढा, विकास डागी, प्रकास केसी लगाएतको रोहबरमा सुनिलकी आमा गोमा घर्ति मगरलाई प्रदान गरिएको हो । सुनिलको घरमा सुनिलकी दिदि हिरा घर्ति पनि उस्तै विरामी भएको बुवा वेदबहादुर घर्तिले बताए । 

सहिद स्मृति विद्यालय कक्षा ८ मा अध्ययनरत १९ बर्षिया हिरा घर्ति मगर पनि विगत ४ बर्ष देखि यही रोग वाट थलिएकी छन् । गरिब परिवार त्यसमा पनि दुई सन्तान दिर्घ रोगबाट पिडित भए पछि आफुहरु दिन रात आसुमा वित्ने गरेको आमा गोमा घर्ति मगरले बताइन । 

जेठि छोरीको विवाह भै सकेको र बाकी दुई सन्तान विरामी भएपछि घर्ती परिवारलाई आर्थिक समस्या भएको छ । दुई सन्तानलाई उपचार गर्न सक्ने आफ्नो आर्थिक अवस्था नभएपछि बुवा बेदबहादुरले आर्थिक सहयोगको याचना गरेका  छन ।

उनले एभरेष्ट वैंक तुलसीपुरमा ०३३००५०१२१६४६८ नम्वरको खाता खोलिएको हुदा सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस