२०८३ जेष्ठ २८ गते बिहिवार | 2026 June 11th Thursday

राइजिङ स्टार र सहारा तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि होडमा

दाङ, २६ फागुन । राइजिङ स्टार फुटबल घोराही र सहारा फुटबल क्लब लखनउ सर्वाधिक पुरस्कार राशीको तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को उपाधिका लागि भिड्ने भएका छन । हिरा डाँगी फाउन्डेसन तुलसीपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबार  सम्पन्न अन्तिम सेमिफाइनल खेलमा साविक उपविजेता टरिगाउँ युवा क्लब तुलसीपुरलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै सहारा फुटबल क्लब लखनउले फाइनलमा राइजिङ स्टारसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको पहिलो हाफ को २९ औ मिनेटमा सहाराका निरञ्जन शाहीले गरेको गोलनै निर्णायक गोल सावित भयो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने सहाराका   हरि कठायत म्यान अफ द म्याच घोषित भए । यसैबीच प्रतियोगिताको फाइनल खेल  आइतबार दिउँसो १ बजेदेखि सुरु हुने फाउन्डेसनका अध्यक्ष पोखर सिह डाँगीले जानकारी दिए । उपाधि होडमा रहेका दुबै टिममा सशक्त र शानदार खेल प्रदर्शन गर्ने खेलाडीहरूको वर्चश्व रहेकाले फाइनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएकोछ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्‍याउने  उद्देश्यका साथ सञ्चालित प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीति बहादुर गिरि प्रेसले जानकारी दिए । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिनेछ । यसैबीच फाइनल तथा समापन समारोहमा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी कुमार आउने कार्यक्रम रहेको फाउन्डेसनले जानकारी दिएको छ । साथै फाउन्डेसनले कार्यक्रममा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, सहयोगीदादा,पत्रकार,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, नागरिक समाज लगायत सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस