रुकुम पश्चिम, ४ चैत । रुकुमपश्चिममा भूकम्प प्रभावितका लागि करिब ३० हजार अस्थायी आवास निर्माण गरिएको छ । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर आएको भूकम्पले प्रभावित क्षेत्र रुकुमपश्चिममा भूकम्प गएको पाँच महिनामा जिल्लाभर २९ हजार सात सय ६४ वटा अस्थायी आवास निर्माण सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।
दुई हजार एक सय ९२ वटा अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय जना लाभग्राहीले २५ हजारका दरले ७८ करोड २५ लाख रुपैयाँ रकम पाएका छन् ।
स्थानीय विपद् कोषबाट भने ३० हजार आठ सय ४१ जना लाभग्राहीले २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । अब जिल्लामा पहिचान भएका तीन सय ५९ जना लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।