काठमाडौं, ५ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो । काठमाडौँ उपत्यकाको हकमा २२/२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लागेको पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइनेछन् । त्यस्तै उत्तरपुस्तिका समेत सातै प्रदेशबाट पठाउने काम भइसकेको छ । प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको छ । त्यस्तै परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने खर्च समेत प्रदेश सरकारबाटै हुने परीक्षा नियन्त्रण पौडेलले बताए ।
उत्तरपुस्तिका पठाउने, परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन गर्न खर्च पठाउने काम पनि प्रदेश सरकारले गर्ने हो । यो वर्ष ५ लाख प्रश्नपत्र छापिएका छन् । परीक्षा फाराम भरेका सबै विद्यार्थीले परीक्षा दिन नआउने भन्दै बोर्डले ५ लाख मात्रै प्रश्नपत्र छापेको हो । प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको हो ।
केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्नेछ । केन्द्राध्यक्ष, निरीक्षकहरू नियुक्त गरेपछि उनीहरूले तालिम समेत प्रदान गर्ने गरिन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा केही दिन अगाडि मात्रै तालिम दिने गरिन्छ । नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् ।
जापानमा परीक्षा सञ्चालनका लागि बोर्डबाट दुई जना जाने भन्ने नीतिगत व्यवस्था थियो । तर, अहिलेसम्म नगएको उनको भनाइ छ बोर्डबाट कोही नगएपछि त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्ष तोकेर परीक्षा गर्न लागिएको पौडेलले बताए । परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिकाहरू नेपाल पठाइने र नेपालबाटै परीक्षण हुने उनको भनाइ छ ।