२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

तुलसीपुरमा पत्रकारहरु एकै ठाउँमा : पत्रकार र मिडिया जोगाउने चिन्ता

दाङ, १० चैत । पत्रकारिता क्षेत्रप्रति राज्यको दृष्टिकोण सकारात्मक बन्न नसकेको तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागी पत्रकारहरुले गुनासो गरेका छन् । राज्यको समान दृष्टिकोण बन्न नसक्दा पत्रकार तथा मिडिया क्षेत्र धरासयीस्थितमा पुगेको पत्रकारको गुनासो छ । 

स्वतन्त्र पत्रकार संघ दाङ शाखाले शनिबार तुलसीपुरमा गरेको ‘व्यवसायीक एकता र जिम्मेवार पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारिता क्षेत्रमा राज्यको लगानी शून्यजस्तै रहेकोले पत्रकारिता क्षेत्रको विकास हुन नसकेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले आम नागरिकले मूलधारका मिडिया र सामाजिक संजाल छुट्याउन नसक्दा पत्रकारिताप्रतिको विश्वसनियतामा खडेरी सिर्जना हुन थालेको बताएका थिए । उनले मूलधारका मिडियामा पत्रकार आचारसंहिताभित्र रहेर समाचार आउने कुराको जानकारी नागरिकलाई नहुँदा पनि सामाजिक संजाललाई विश्वास गर्ने वातावरण बनेको बताएका हुन । 

नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष तथा रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले राज्यले संचारमाध्यमप्रति गरिने व्यवहार विभेदपूणर् रहेको बताएका थिए । उनले स्थानीय सरकारले स्थानीय संचारमाध्यमलाई प्राथमिकतामा पार्न नसक्नु दुखद भएको बताएका हुन । 

नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले पत्रकारिता पेशालाई विश्वसनिय बनाउनुपर्नेमा जोड दिएकि हुन । उनले कतिपय व्यक्ति तथा संस्थाले पछिल्लो समय सार्वजनिक कार्यक्रममै गरेको व्यवहारले समग्र पत्रकारितामाथि प्रहार भएको महशुस गरेको बताएकि हुन । 

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले पत्रकारिता पेशा चुनौतिपूणर् भएकाले पनि पछिल्लो पुस्ताको आकर्षण हुन नसकेको बताएका हुन । यस्तै नेपाल प्रेस युनियनका सचिव अमरक्षितिज भण्डारीले पत्रकारितालाई विश्वसनिय बनाउन सिर्जनशिलतालाई बढाउनुपर्ने बताएका हुन । प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाले संचारमाध्यम घिटिघिटी अवस्थामा पुग्दा पत्रकारको पेशा असुरक्षित बन्न पुगेको बताएका हुन । 

संघका अध्यक्ष जीतसागर जी.एमले पत्रकारबिचको एकतालाई जोड दिएका हुन । उनले समाजमा हुने बेथितिको अन्त्य गर्नका लागि पत्रकारले निष्पक्षरुपमा कलम चलाउनुपर्ने बताएका हुन । संघका सचिव बसन्त पौडेलले संचार माध्यमलाई हेर्ने राज्यको दृष्टिकोण सकारात्मक बन्न नसकेको बताएका हुन । आर्थिक संकटको मारमा मिडियाक्षेत्र पनि रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस