काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीले युवा हुनलाई उमेर नभएर उर्जा चाहिने बताएका छन् ।
शनिबार घोराहीमा सम्पन्न भएको युवा संगठन नेपाल पूर्वी दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले युवा हुनलाई उमेर नभएर उर्जा चाहिने बताएका हुन् ।
कार्यक्रममा शुभकामना तथा प्रशिक्षणात्मक मन्तव्य राख्दै इञ्चार्ज सविनले खासमा युवा हुनलाई रगत मात्र भएर नहुने उर्जा र नयाँ सोच हुनुपर्ने भन्दै युवा भनेपछि आफ्नो लागि, समाजका लागि र देशका लागि केही न केही काम गर्ने अठोट बोकेको हुनुपर्ने बताए । जुन युवाहरूमा त्यो खालको सोच हुँदैन् त्यो उमेरका हिसाबले युवा भन्न सकिएला तर तिनीहरूलाई उर्जाशील युवा भन्न सकिँदैन् उनले भने ।
`दलाल पूँजीवादलाई नबदल्ने हो भने युवाको जीवन बदलिँदैन्´ उनले भने ` दलाल पूँजीवादलाई बदल्नका लागि हामीले नेपालमा एकीकृत जनक्रान्ति गरिरहेका छौं । त्यो एकीकृत जनक्रान्ति भनेको दलाल कारणको विरुद्ध हो । दलाल पूँजीवाद भनेको युवालाई विदेश पलायन बनाउने, श्रमको शोषण गर्ने, देशको प्राकृतिक स्रोत साधनलाई लुट्ने, देशको सम्पत्ति दोहन गर्ने र देशलाई कंगाल बनाउने अर्थव्यवस्था हो । त्यसको विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले संघर्ष गरिरहेको र त्यो संघर्षको नाम एकीकृत जनक्रान्ति भएको बताए । ´
देशमा अहिले दलाल पूँजीवादीको रजाइँ छ भने अर्कोतिर वैदेशिक हस्तक्षेप भइरहेको हुँदा यसविरुद्ध एक पटक नेपालका नौजवान युवाहरू लड्नुपर्ने उनले बताए । कार्यक्रममा समाजवादी मोर्चा नेपालको बारेमा जानकारी दिँदै समाजवादी व्यवस्था प्राप्तिका लागि ढिलोचाडो नेकपा एमाले पनि मोर्चामा आउनुपर्ने नेता सविनको भनाइ थियो ।