
काठमाण्डौ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको अर्धस्वचालित हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समति गठन गर्नुभएको हो । समितिमा गृह मन्त्रालयका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य रहनुभएको छ । समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको छ ।
यही चैत ५ गते सर्वोच्च अदालत परिसरबाट अर्धस्वचालित हतियारसहित प्रसाईंका सहयोगीहरू राजकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए । प्रसाईंलाई २०७५ सालमा जिल्ला प्रशासन कार्यालय झापाले नेपालभर जुनसुकै अवस्थामा हतियार लिएर हिँड्न र प्रयोग गर्न पाउने गरी इजाजत दिएको थियो । सर्वोच्च अदालतले हतियार इजाजतपत्रको सर्त बमोजिम नै प्रयोग भएको खुलाउँदै चैत १३ गते थुनामुक्त गर्न आदेश दिएपछि दुवै जना छुटिसकेका छन् । तर कानुन विपरीत इजाजतपत्र दिएको विषय छानबिन गर्न सर्वोच्चले आदेश दिएको थियो । सर्वोच्चको आदेशअनुसार गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।