दाङ, १७ चैत । दाङको राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीहरूले सहज रुपमा सेवा नपाएको गुनासो गर्दै आइरहेका छन् । पछिल्लो समय अस्पतालमा बिरामीहरूको संख्या बढ्दै गइरहेको छ । बिरामीले टिकट काट्ने ठाउँदेखि डाक्टर र ल्याबको रिपोर्ट ल्याउन पनि घन्टौँ लाइनमा बस्न बाध्य हुन्छ । ५० बेडको स्वीकृत पाएर सञ्चालन भइरहेको अस्पतालमा अहिले दैनिक ५ / ६ सय बिरामीहरू सेवा लिन आउने गरेका छन् । तुलसीपुर उपमहानगरसहित शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका र रोल्पा, सल्यान, रुकुमबाट पनि सेवा लिन आउने यही अस्पताल नै हो । तर, बिरामीहरूले भने सहज रुपमा सेवा नपाएको गुनासो छ । शुरुमा टिकट काट्नको लागि घन्टौँ लाइन, त्यसपछि डाक्टरलाई देखाउनका लागि उस्तै लाइन, डाक्टरले चेकचाँज गरेपछि ल्याब रिपोर्ट ल्याउन घन्टौँ लाइन बसेर आफूहरूले निकै पीडा पाएको रुकुमबाट उपचारको लागि आएकी उजेली केसीले बताइन् ।
उनले भनिन्,‘ अस्पतालमा बिहानै आइपुगेकी थिए । टिकट काट्ने लाइनमा १२ बजेसम्म लाइनमा बसे । त्यसपछि डाक्टरलाई चेक गराउन एक घण्टा लाइनमा बसे, अहिले दिउँसोका ४ बजिसकेको छ । ल्याबमा रिपोर्टको लागि लाइन मै छु । अब रिपोर्ट आए देखाउनको लागि डाक्टरहरू हुँदैनन्, अब भोलि नै फेरि आउनु पर्छ । यसले गर्दा हामी जस्ता नागरिकहरूले निकै समस्या पाएका छौँ । ’ घरमा कोही नभएको र रुकुमबाट उपचार गर्न आउँदा पनि समयमा उपचार नहुँदा समस्या भएको उनको गुनासो थियो । गरिबी दुःखीहरू उपचार गर्न आउने भनेको सरकारी अस्पताल मै भएको भन्दै उनले सरकारी अस्पतालमा सेवा लिन आउने बिरामीहरू समय मै सहज रुपमा सेवा नपाउँदा समस्या भोगिरहेको समेत बताइन् । यस्तै उनले यस्तो समस्यालाई सरकारले ध्यान दिनु पर्ने समेत बताइन् । उनले भनिन्,‘ पैसा हुनेहरू निजी अस्पतालमा सेवा लिन जान सक्छन् । तर, हामी जस्ता नागरिकहरू आउने भनेको यही अस्पताल नै हो । तर, हामीले सहज रुपमा सेवा पाउनै गाह्रो छ ।’
यस्तै शान्तिनगरबाट आफन्तीको उपचारको लागि आएका भीम बहादुर ऐरीले पनि अस्पतालबाट सेवा पाउन निकै समस्या भइरहेको बताए । उनले भने,‘ मैले बिहान १० बजे बिरामी ल्याएर आएको थिए । म पहिलो पटक यस अस्पतालमा आएको हुँ ! तर, मलाई यहाँको व्यवस्थापन देख्दा सोझा नागरिकहरूले सहज रुपमा सेवा पाउन सक्दैनन्, जस्तो लागेको छ । अस्पतालमा आएपछि टिकट काट्न, डाक्टरलाई देखाउन, ल्याबबाट रिपोर्ट ल्याउन घन्टौँ लाइन बस्नु पर्ने बाध्यता रहेको छ । ’ यस्तै उनले सरकारको नियम अनुसार डाक्टरहरू ३ बजेसम्म बस्नु पर्ने भएयता पनि त्यो समयमा कुनै पनि नहुने समेत बताए । उनका अनुसार घन्टौँ लाइनमा बसेर ल्याबको रिपोर्ट ल्याउँदा डाक्टरहरू तोकिएको समयमा हुँदैन, जसले गर्दा बिरामीलाई भोलि पल्ट ल्याउन पर्ने बाध्यता हुन्छ । अस्पतालमा आउनु भनेको मानिसहरूको स्वास्थ्य समस्या भएर नै हो ? तर, एक दिन आएर डाक्टरलाई देखाउने, अर्को दिन आएर रिपोर्ट देखाउने र औषधि लैजाने अवस्था अस्पतालमा हुँदा बिरामीहरूले निकै समस्या हुने समेत उनको भनाइ छ ।
यस्तै सल्यानबाट आमाको उपचार गर्न आएकी गीता केसीले पनि अस्पतालमा सहज सेवा नपाउँदा धेरै दुख पाउने गरेको बताइन् । आफ्नी ७४ वर्षीया आमाको उपचारको लागि बिहान ८ बजे अस्पताल आइपुगेको र सुगर चेक गर्नु पर्ने हुँदा घन्टौँ लाइनमा बस्नु परेको बाध्यता सुनाइन् । १२ बजेसम्म पनि आमाले सुगर चेकको जाँचका लागि रगत दिन नपाएको र अहिलेसम्म खाली पेट नै रहेको उनको भनाइ थियो । यस्तै उनले अस्पताललाई व्यवस्थित रुपमा गर्न आग्रह गर्दै अस्पतालका कर्मचारीहरूले आफूले चिनेजानेको एउटै पटक ५ / ७ वटा भित्र लगेर छिट्टै बनाएर ल्याउने र अरुलाई घन्टौँ लाइनमा बसाउने गरेको गुनासो गरिन् ।
यस्तै शान्तिनगर गाउँपालिका ३ बाट आएका शालिकराम बिकले पनि कर्मचारीहरूले चिनजानकालाई पहिलो प्राथामिकता दिने गर्दा सोझा नागरिकहरू घन्टौँ लाइनमा बस्नु पर्ने अवस्था रहेको बताए । उनले भने,‘ सुगरको चेकजाँच गर्नको लागि म बिहान पौने ९ बजे अस्पताल आइपुगेको थिए । बिल काट्न पनि घन्टौँ लाइन बस्नु पर्छ । अहिले १२ बजिसकेको छ । अहिलेसम्म ल्याबमा रगत दिनको लागि मेरो पालो आएको छ । अस्पताल व्यवस्थापन निकै कमजोरी देखिएको छ । ’ पछिल्लो समय बिरामीहरू सेवा लिन आउन निकै चाप बढ्दै गइरहेको अवस्थामा अस्पताललाई व्यवस्थित गर्न ध्यान दिनु पर्ने उनको सुझाव छ । गरिबहरू उपचार गर्न आउने अस्पतालमा कुनै पनि सेवा लिनको लागि घन्टौँ लाइनमा बस्नु पर्दा बिरामीले झन पीडा भोग्ने गरेको उनले बताए । डाक्टरहरू पनि तोकिएको समयमा नभेटिँदा नागरिकहरूले झनै समस्या भोग्ने गरेको समेत उनले बताए ।
सहज रुपमा सेवा लागि रहेका छौँ : मेसु डा. अधिकारी
अस्पतालमा नागरिकहरूलाई सहज रुपमा सेवा दिनको लागि आफूहरू लागि रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारी ले बताए । पछिल्लो समय दैनिक ५ / ७ बिरामीहरू सेवा लिन आउँदा भिडभाड हुने गरेको उनको भनाइ छ । उनले भने,‘ दैनिक एक सय जनालाई सेवा दिने गरी स्थापना भएको अस्पतालमा अहिले दैनिक ५/ ७ सय बिरामीहरू आउँदा भिडभाड भइरहेको छ । हाम्रो अस्पतालको क्षमता ५० बेडको हो ? तर, हामीले आन्तरिक व्यवस्थापन गरेर करिब डेढ सयसम्म सञ्चालन गरेका छौँ । नागरिकहरूलाई सहज रुपमा सेवा दिनु पर्छ, भन्ने हाम्रो पनि मान्यता हो ? तर, जनशक्ति र ठाउँको कारणले समस्या भइरहेको छ ।
अस्पतालमा अहिले ५ सय बढि जनशक्ति आवश्यक भएयता पनि अहिले ३२ जना चिकित्सकसहित २३७ जना मात्र जनशक्ति रहेको उनको भनाइ छ । शुरुमा एउटा मात्र रहेको टिकट काउन्टर थप २ वटा र २ वटा बिल काउन्टर अस्पतालमा रहेको उनको भनाइ छ । यस्तै उनले २ वटा ओपीडी सेवालाई अस्पतालको बन्दै गरेको माथिल्लो तलामा सारेको पनि उनले बताए । उनले भने,‘ अहिले ठाउँ अभावका कारण एउटा ओपिडी कोठामा ३ जनासम्म डाक्टरहरू बसेर सेवा दिन बाध्य छन् । एउटै कोठामा सेवा दिँदा बिरामीहरूको भिडभाड हुने गर्दछ । हामी कहाँ अहिले न पर्याप्त चिकित्सक छन्, न पर्याप्त कोठा छन् । त्यसले गर्दा पनि सेवा दिन समस्या भइरहेको छ ।’
उनका अनुसार अहिले ल्याबमा सरकारले पठाएको २ जना कर्मचारी र केही समितिले र केही दैनिक ज्यालादारीमा राखेर सेवा दिइरहेका छौँ । यस्तै उनले अस्पतालाई २ सय बेडका बनाउने अन्तिममा पुगेको भन्दै मुख्यमन्त्री, स्वास्थ्य मन्त्रीबाट पास भएर गएको र आर्थिकका कारणले अर्थमा गएर रोकिएको कुरा आफूले थाहा पाएको र २ बेडमा सञ्चालन आएको धेरै सहज हुने समेत बताए ।