२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

स्वास्थ्यकर्मीहरू आफ्नो पीडा लुकाएर बिरामीहरूको सेवा गर्नुपर्छ : अध्यक्ष गौतम

दाङ, २४ चैत । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय अध्यक्ष झलक शर्मा गौतमले स्वास्थ्यकर्मीहरू आफ्नो पीडा लुकाएर बिरामीहरूको सेवा गर्नुपर्ने बताए । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा नेतृत्व विकास, संगठन व्यवस्थापन तथा समसामयिक विषयमा प्रशिक्षण दाङको तुलसीपुरमा शुक्रबारदेखि सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै आफूले बिरामीको उपचार गरेको भनेर द्वन्द्वको समयमा २४ घण्टासम्म बाख्राको खोरमा थुनेको सम्झदै उनले यस्ता खालका चुनौतीहरू स्वास्थ्यकर्मीहरूले सामना गर्दै अगाडि बढी रहेको बताए ।

उनले भने,‘ म  आज भन्दा २५ वर्ष अगाडि रुकुम, सल्यान र महामारी नियन्त्रण गर्नको लागि जाजरकोटमा थिए । त्यो बेलाका स्वास्थ्यकर्मीहरूको पीडा मलाई थाहा छ । निलो झण्डा बोकेर हिँड्नु पर्ने बाध्यता थियो । माथिबाट हेलिकप्टर उड्थ्यो । बम खसाल्थ्यो , तल हतियारधारीहरू हुन्थे, गोली पड्काउँथे ।  हामी ज्यान बचाउनको लागि निलो झण्डा बोकेर  डराइ डराइ भेरीका किनारमा हिँड्थ्यौँ ।’ प्रमुख अतिथि समेत रहेका गौतमले विभिन्न खालको भूमिपतिहरुको सामना गर्दै अहिलेको स्थितिसम्म आउँदा स्वास्थ्यकर्मी हुँदै धेरै राजनीतिकर्मीहरूको पनि उत्पादन भएको उनको भनाई थियो ।

 यस्तै उनले लुम्बिनी भूमि भनेको धेरै स्वास्थ्यकर्मीहरूलाई प्रधानमन्त्री बनाउने भूमि रहेको समेत उल्लेख गरे । यो भूमिले स्वास्थ्यकर्मी उत्पादन मात्र नभइ राजनीतिक नेतृत्व र हतियार उठाउने स्वास्थ्यकर्मी यही भूमिले दिएको उनको भनाइ छ ।  कार्यक्रमका प्रमुख वक्ता नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वलीले जबसम्म आफ्नो क्षेत्रमा नेता बनिदैन तबसम्म उक्त सङ्गठनले सफलता प्राप्त गर्न नसक्ने बताइन् । वलीले जनताहरूसँग प्रत्यक्ष रुपमा जोडिने भनेकै स्वास्थ्यकर्मीहरू भएकाले समाजको नेतृत्व स्वास्थ्यकर्मीले गरिरहेको बताइन् ।

स्वास्थ्य छैन भने कसैको जीवन पनि नरहने बताउँदै उनले स्वास्थ्यकर्मीहरूलाई आफू कमजोर हुने खालको काम नगर्न आग्रह गरिन् । स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्तामणि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेशका उपसचिव पूर्ण घर्ती लगायतले नेकपा एमालेले आफ्ना २३ वटा जनसङ्गठनको बलबुतामा मिसन ८४ सफल हुनेमा विश्वस्त रहेको बताएका थिए । स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष दोर्ण वलीको स्वागत मन्तव्यबाट सुरु प्रशिक्षण कार्यक्रमको सहजीकरण महासङ्घका प्रदेश सचिव कृष्ण गोपाल चौधरीले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मीहरूको सहभागिता छ ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस