२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

राष्ट्रिय मिडिया महोत्सवको तयारी तीब्र

दाङ, १ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाले यही वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको राष्ट्रिय मिडिया महोत्सवको तयारी तीव्र पारिएको छ । दाङमा पहिलोपटक हुन लागेको मिडिया महोत्सवको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ दाङ शाखाले जानकारी दिएको छ । मिडिया सम्बन्धी सम्पूर्ण सरोकारवाला निकाय, राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरू, मिडिया विज्ञ र जनप्रतिनिधिहरूको उपस्थितिमा हुने मिडिया महोत्सवका लागि प्रचारप्रसार, बहसका लागि आवश्यक वक्ता हरू सँगको समन्वय लगायतका काम अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । 

महोत्सवको वैशाख ३ गते बिहान  साढे १० बजे होटेल माला इन घोराहीमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । सो दिन पत्रकार महासङ्घको साधारण सभा एवं अधिवेशनसँगै सङ्घीयता, विकास र मिडिया विषयक बहस कार्यक्रम हुनेछ । जसमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र मिडिया विज्ञहरू वक्ताको रुपमा रहनेछन् ।  दोस्रो दिन वैशाख ४ गते मिडियाको समार्थ्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजोका मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरता लगायतका विषयमा छुट्टाछुट्टै बहस हुने नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतलले जानकारी दिए । 

बहसका लागि वक्ताको रुपमा सहभागी हुन नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी लगायत राष्ट्रिय स्तरका ख्याति प्राप्त पत्रकारहरू दाङ आउने छन् । 

दाङमा पहिलोपटक हुन लागेको यस मिडिया महोत्सवलाई जिल्लावासीहरूले अवसरको रुपमा लिन महासंघ दाङले सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गरेको छ । साथै महासङ्घले मिडिया महोत्सवमा उपस्थित हुन सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस