२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

‘पूर्ण बहादुरको  सारङ्गी’को निर्माण घोषणा

काठमाडौं, ८ वैशाख । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको  सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मलाई विस २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण टिमले सार्वजनिक गरेको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझन सकिन्छ । सार्वजनिक मोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो ।

अगाडि बूढो रूख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुन्ड्याएका छन् सारङ्गी, र बच्चा बोकेका छन्, काँधमा । बच्चाले सोध्छ ( तिमी मलाई सधैँ किन काँधमा बोकेर हिँड्छौ ? हाँस्दै बाउले जवाफ दिन्छ ( म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर । यतिभन्दा ऊ भक्कानिसकेको हुन्छ । गला अवरुद्ध हुन्छ । थप बोल्न सक्दैन ।  स्वभाविक पनि हो, उसलाई हेर्दा ऊ गाउँघरमा सारङ्गी रेटेर आफ्नो घरपरिवार चलाइरहेको अनुमान लगाउन सकिन्छ । ऊ जहाँ जान्छ, बच्चालाई यसैगरी सँगै लिएर हिँड्ने गरेको बुझ्न सकिन्छ । गाउँ छोडेर सहरसम्मको पखेटा लगाउने उसमा चाह भए पनि प्रतिबन्धमा परेर घर छोड्न नसकेको अनुमान लगाउन सकिन्छ । उसको परिवारमा बाउ र छोरा मात्रै रहेको अनुमान लगाउन सकिन्छ । हुन पनि हो, यो संसारमा मान्छे एउटा त्यस्तो प्राणी हो जसले एउटा व्यक्तिको मात्रै इर्श्या गर्दैन । त्यो हो सन्तान र उसको प्रगति ।

आफ्नै दाजुभाइको समेत इर्श्या गर्ने मान्छेलाई आफ्नो सन्तानले भने आफूलाई पनि उछिनेर अगाडि बढेको हेर्ने चाह हुने गरेको बताइन्छ । त्यही तथ्यलाई यो संवादले संकेत गरेको छ । संवाद पछि सन्तानको खुसीका लागि आफूले सकेजति घाम र हुरी पनि छेकिदिने र शरीरमा एकमुठ्ठी सास रहेसम्म सन्तानलाई काँधमा बोकेर हिँडिरहने माया दशाइरहेका बेला फिल्म ‘सारङ्गी’को मोसम पोस्टरको क्रेडिट लाइन सुरु हुन्छ । फिल्मले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तान प्रतिको त्यागको कथा भन्ने मोसन पोस्टरमार्फत संकेत गरेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन् । रमेश चौलागाईँ र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस